काठमाडौं । चितवन र धादिङका जिल्ला प्रशासन कार्यालयहरूले पृथ्वी राजमार्ग अन्तर्गत कोत्रे–मुग्लिन–नागढुङ्गा तथा मुग्लिन–नारायणगढ खण्डमा यात्रुहरूलाई सतर्क रहन संयुक्त सूचना सार्वजनिक गरेका छन्।
जल तथा मौसम विज्ञान विभागले शुक्रबारदेखि असोज २० गतेसम्म देशभरि विशेषगरी उक्त क्षेत्र आसपास भारी वर्षा हुने सम्भावना जनाएको छ। त्यही पूर्वानुमानका आधारमा यात्रा जोखिमपूर्ण हुनसक्ने भन्दै स्थानीय प्रशासनले संयमित भएर मात्र यात्रामा जान आग्रह गरेको हो।
तनहुँका प्रमुख जिल्ला अधिकारी रामकृष्ण अधिकारीका अनुसार आवश्यक कामबाहेक राजमार्ग प्रयोग नगर्न, जरुरी भए दिनको समयमा मात्र गन्तव्यमा पुग्ने गरी यात्रा गर्न र राति सम्भव भएसम्म यात्रा नगर्न आग्रह गरिएको छ। यात्रा गर्नैपर्ने भएमा सुरक्षा निकायसँग आवश्यक जानकारी लिएर मात्र अघि बढ्न सुझाव दिइएको उनले बताए।
साथै, सो अवधिभर ठूलो आकारका मालवाहक सवारी साधनहरूलाई राजमार्गमा सञ्चालन नगर्न अनुरोध गरिएको छ। पूर्वानुमानअनुसार वर्षा बढेमा आवागमन पूर्ण रूपमा बन्द गर्नुपर्ने परिस्थिति आउन सक्ने भएकाले त्यस्तो अवस्थामा प्रशासनलाई सहयोग गर्न यात्रु तथा विभिन्न सङ्घ–संस्थालाई आग्रह गरिएको छ।
प्रकाशित मिति: १७ आश्विन २०८२, शुक्रबार












प्रतिक्रिया