काठमाडौं । नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीलाई पार्टी नेतृत्व तत्काल छाड्नुपर्ने दबाब बढ्दै गएको छ। नेपाल बौद्धिक परिषद्ले महाधिवेशन पर्खिनु आवश्यक नभई विधानअनुसारै नेतृत्व हस्तान्तरण गर्नुपर्ने सुझाब दिएको खुलेको छ।
परिषद्ले असोज २ गते तीन पृष्ठ लामो सुझावपत्र पार्टी महासचिव शंकर पोखरेललाई बुझाएको हो। परिषद्का अध्यक्ष गजेन्द्रप्रसाद थपलियाले हस्ताक्षर गरेको उक्त पत्रमा ओलीलाई अब अभिभावकीय भूमिकामा सीमित भएर नयाँ नेतृत्वलाई बाटो खुला गरिदिन आग्रह गरिएको छ।
सुझावमा भनिएको छ, ‘पार्टी महाधिवेशन तत्काल सम्भव नभएकाले कार्यकारी केन्द्रीय कमिटीमार्फत विधिवत रूपमा नेतृत्व हस्तान्तरण गर्नु उपयुक्त हुन्छ। वरिष्ठ नेताहरूले आफ्ना अनुभव र सिकाइ नयाँ पुस्तालाई दिँदै प्रेरणादायी भूमिका निर्वाह गर्नु अबको आवश्यकता हो।’
यसअघि असोज १२ गते ओली निवास गुन्डुमा बसेको सचिवालय बैठकमा पनि अधिकांश पदाधिकारीहरूले अध्यक्ष ओलीलाई नेतृत्व छाड्न सुझाव दिएका थिए। सो बैठकमा नेतृत्व परिवर्तन, संगठनात्मक अवस्था र हालैको ‘जेन–जी आन्दोलन’ सन्दर्भमा भएका घटनाबारे व्यापक छलफल गरिएको थियो।
पार्टीले पुनः असोज १९ र २० गते सचिवालय बैठक बोलाएको छ भने असोज २७, २८ र २९ गते केन्द्रीय कमिटी बैठक बस्ने भएको छ। ती बैठकहरूबाट आगामी महाधिवेशन र नेतृत्वबारे ठोस निर्णय हुने एमाले पदाधिकारीहरूले बताएका छन्।
प्रकाशित मिति: १७ आश्विन २०८२, शुक्रबार












प्रतिक्रिया