काठमाडौं । धादिङमा लगातारको वर्षापछि धादिङका विभिन्न स्थानमा पहिरो खसेपछि नागढुंगा–मुग्लिन सडकखण्डमा आवागमन प्रभावित भएको छ। सडक तत्कालै खुलाउन नसकिने भएकाले प्रहरीले आज बिहानैदेखि माइकिङ गर्दै यात्रु र सवारी चालकलाई यात्रा नगर्न आग्रह गरेको छ।
काठमाडौंको मुख्य प्रवेशद्वार नागढुंगा चेकपोष्टमा खटिएका प्रहरीले ‘धादिङका विभिन्न ठाउँमा ठूलो पहिरो खसेको छ, तत्काल सडक खोल्न सकिने अवस्था छैन, त्यसैले सुरक्षित तरिकाले फर्कनुहोस्’ भन्दै सवारीसाधनलाई अघि बढ्न रोकेका छन्।
यद्यपि अवरुद्ध भएको नारायणगढ–मुग्लिन सडकखण्ड र पृथ्वी राजमार्ग अन्तर्गतको मुग्लिन–नागढुंगा खण्ड एकतर्फी सञ्चालनमा ल्याइएको छ। धादिङको बेनिघाट रोराङ–१० जवाङखोलामा खसेको पहिरो पन्छाएपछि रोकिएका सवारी गन्तव्यतर्फ पठाइएको र चितवनको इच्छाकामना–५ तुइनखोला पुल नजिक खसेको पहिरो हटाएपछि सडक आंशिक रूपमा खुलेको प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले जानकारी दिए।
तर जोखिम भने अझै टरिसकेको छैन। पानी परिरहेकाले नयाँ पहिरो खस्ने सम्भावना उच्च रहेको र ढुंगा–माटो झर्ने क्रम निरन्तर भएकाले यात्रामा विशेष सतर्कता अपनाउन प्रशासनले आग्रह गरेको छ।
प्रकाशित मिति: १८ आश्विन २०८२, शनिबार













प्रतिक्रिया