काठमाडौं। शुक्रबार रातिदेखि परेको अविरल वर्षाको असर त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पनि परेको छ। लगातारको झरीका कारण उडान असुरक्षित भएपछि शनिबार बिहानदेखि आन्तरिक उडानहरू रोकिएका छन्। बिहान १० बजेसम्म सबै उडान स्थगित गरिएका विमानस्थल अधिकारीहरूले जानकारी दिएका छन्। त्यसपछि मौसमको अवस्था हेरेर मात्र उडान पुनः सुरु गर्ने वा नगर्ने निर्णय हुने भएको छ।
जल तथा मौसम विज्ञान विभागले आगामी सोमबारसम्म देशभर वर्षा जारी रहने अनुमान गरेको छ। विशेषगरी कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा अझै भारी वर्षाको सम्भावना रहेको चेतावनी दिइएको छ।
यसैबीच, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले अविरल वर्षाले बाढी, पहिरो र डुबानजस्ता विपद् जोखिम बढाएको भन्दै आफ्ना नेता-कार्यकर्ता र द्रुत कार्यसमूहलाई प्रतिकार्यमा जुट्न निर्देशन दिएको छ। पार्टीका कार्यवाहक सभापति डिपी अर्यालले विज्ञप्ति जारी गर्दै सम्भावित विपद्को न्यूनीकरण, द्रुत खोज तथा उद्धार, घाइते उपचार, प्रभावित व्यवस्थापन र राहत वितरणमा सक्रिय सहभागिताको लागि आग्रह गरेका छन्।
‘विपद्को बेला मानवीय सेवा सबैको जिम्मेवारी हो। स्थानीय सरकार र प्रशासनसँग समन्वय गरेर आफ्ना सीप र दक्षता अनुसार सहयोगमा जुट्न सम्पूर्ण संरचना, सदस्य र शुभेच्छुकहरूलाई अनुरोध गर्दछौं,’ विज्ञप्तिमा उल्लेख छ।
रास्वपाले सरकारी निकायहरूले जारी गरेका सुरक्षा तथा सतर्कता सम्बन्धी सूचनालाई पालना गर्न सबै नागरिकलाई पनि आग्रह गरेको छ।
प्रकाशित मिति: १८ आश्विन २०८२, शनिबार












प्रतिक्रिया