काठमाडौं । अविरल वर्षाका कारण देशभरका राजमार्गमा रोकिएका सवारी साधनलाई सुरक्षित रूपमा गन्तव्यसम्म पुर्‍याउने व्यवस्था मिलाउन गृह मन्त्रालयले सबै जिल्ला प्रशासन कार्यालयलाई निर्देशन दिएको छ।

शनिबार सबै प्रमुख जिल्ला अधिकारीलाई पठाइएको परिपत्रमा यात्रुहरूको सुरक्षासँगै आवश्यक खानपानको सुविधा स्थानीय तह तथा संघ–संस्थासँगको समन्वयमा मिलाउन आग्रह गरिएको छ।

advertisement

मन्त्रालयले विशेषगरी आपतकालीन सवारी साधनलाई प्राथमिकता दिन निर्देश गरेको छ। रोकिएका एम्बुलेन्सलाई अवस्था हेरी गन्तव्यसम्म पुर्‍याउने र बाटोमै अलपत्र परेका गर्भवती महिलालाई नजिकैको ‘बर्थिङ सेन्टर’सम्म लैजान व्यवस्था मिलाउन भनिएको छ।

त्यसैगरी, बाढी–पहिरोको उच्च जोखिमपूर्ण क्षेत्रमा बसोबास गर्ने परिवारलाई नजिकैको विद्यालय वा सुरक्षित खुला स्थानमा स्थानान्तरण गर्न स्थानीय पालिकासँग समन्वय गर्न निर्देशन दिइएको छ। मौसमका कारण विमानस्थलमा उडान स्थगित भएर फर्किएका यात्रुलाई यातायात व्यवसायीसँग मिलेर गन्तव्यसम्म पुर्‍याउने व्यवस्था गर्न पनि मन्त्रालयले निर्देशन दिएको छ।

गम्भीर अवस्थाका घटनामा हेलिकप्टरमार्फत उद्धार गर्नुपर्ने भएमा जिल्ला प्रशासन कार्यालयले मन्त्रालयको शान्ति, सुरक्षा तथा अपराध नियन्त्रण शाखासँग प्रत्यक्ष सम्पर्क गर्न सक्ने व्यवस्था मिलाइएको उपसचिव निशानराज गौतमले जानकारी दिए।

बाढी र पहिरोको सम्भावित जोखिमका कारण संवेदनशील जिल्लामा प्रमुख जिल्ला अधिकारी तथा सुरक्षा निकायका प्रमुखलाई चौबीसै घण्टा कार्यालयमा उपस्थित रहन निर्देशन दिइएको छ। साथै, गरिएका कामको प्रगति विवरण नियमित रूपमा विपद् तथा द्वन्द्व व्यवस्थापन महाशाखामा पठाउन पनि भनिएको छ।

यसैबीच, राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जारी गरेको सूचनाअनुसार लामो दूरीका सवारी तथा काठमाडौं उपत्यका भित्रिने–बाहिरिने यातायात आजदेखि असोज २० गते सोमबारसम्म रोक्ने निर्णय गरिएको छ। यसको निगरानी र अनुगमन गर्न पनि सबै प्रशासन कार्यालयलाई भनिएको छ।

जल तथा मौसम विज्ञान विभागले आजदेखि असोज २० सम्म देशका विभिन्न भागमा भारीदेखि अति भारी वर्षा हुने चेतावनी जारी गरेपछि मन्त्रालयले यस्तो विशेष निर्देश जारी गरेको हो।

प्रकाशित मिति: १८ आश्विन २०८२, शनिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com