काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले) को सचिवालय बैठक स्थगित भएको छ। आइतबार बस्ने भनिएको ५८औँ बैठक अब यही शुक्रबार बस्ने तय भएको पार्टी केन्द्रीय कार्यालयका सचिव डा. भिष्म अधिकारीले जानकारी दिएका छन्।
उनका अनुसार लगातारको अविरल वर्षाले उत्पन्न गरेको बाढी, पहिरो र डुबानको जोखिमका कारण बैठक सारिएको हो। पार्टीको केन्द्रीय कमिटी बैठक भने असोज २७ देखि २९ गतेसम्म काठमाडौंमा आयोजना हुने योजना यथावत् रहेको छ।
सचिवालय बैठकले पार्टीको आगामी रणनीति र कार्यदिशा तय गर्ने कार्यक्रम रहेको अधिकारीले बताए। यसअघि एमालेको सचिवालय बैठक असोज १२ गते बसेको थियो।
यसैबीच, पार्टी महासचिव शङ्कर पोखरेलले विज्ञप्ति जारी गरी बाढीपहिरो प्रभावित क्षेत्रमा उद्धार तथा राहतमा सक्रिय रहन नेताकार्यकर्तालाई आग्रह गरेका छन्।
‘भारी वर्षाका कारण थप विपद् आउन सक्ने भएकाले सबै स्थानीय पार्टी कमिटीहरूलाई पूर्वतयारीमा रहन र आवश्यकताअनुसार राज्यका निकायसँग सहकार्य गर्न अनुरोध गर्दछौँ,’ पोखरेलले भनेका छन्।
प्रकाशित मिति: १८ आश्विन २०८२, शनिबार












प्रतिक्रिया