काठमाडौं । बङ्गालको खाडीबाट आएको जलवाष्पयुक्त मनसुनी वायुको प्रभाव अझै कायम रहे पनि काठमाडौं उपत्यकासहित बागमती प्रदेशमा ठूलो वर्षाको जोखिम फिलहाल टरेको छ। जल तथा मौसम विज्ञान विभागका अनुसार पछिल्लो एक घण्टादेखि उपत्यकामा वर्षा रोकिएको छ र पानी पार्ने प्रणाली क्रमशः कमजोर हुँदै कोशी प्रदेशतिर सरेको छ।
जलवायु विज्ञ डा. धर्मराज उप्रेतीका अनुसार काठमाडौं र बागमती प्रदेशमा सक्रिय वर्षा प्रणाली कमजोर बनेकाले उपत्यकामा पानी रोकिएको हो। उनका अनुसार आज दिउँसोसम्म यो प्रणाली पूर्ण रूपमा बागमती प्रदेशबाट बाहिरिने सम्भावना छ।
विभागका ताजा विवरणअनुसार अहिले वर्षा गराउने प्रणाली कोशी प्रदेशमा केन्द्रित छ। आज कोशी, मधेस र बागमती प्रदेशसहित देशका पहाडी भू–भागमा सामान्यदेखि पूर्ण बदली रहने र कतिपय स्थानमा मेघगर्जन तथा चट्याङसहित मध्यम वर्षा हुन सक्ने सम्भावना छ। बाँकी प्रदेशमा आंशिक बदली रहने बताइएको छ।
मधेस प्रदेशमा पनि पानी पर्ने सम्भावना रहे पनि हिजोको तुलनामा तीव्र वर्षा नहुने अनुमान गरिएको छ। पश्चिमी क्षेत्रतर्फ भने यो प्रणालीको खासै प्रभाव नपर्ने देखिएको छ।
यद्यपि वर्षा घट्दै गएकाले पनि प्रमुख नदीहरूमा बाढीको जोखिम अझै कायम छ। विभागका अनुसार बागमती, कोशी र कन्काई नदीहरू खतराको तह नाघ्ने अवस्थामा छन् भने मेची नदी खतराको तहमा रहेर बहाव क्रमशः घट्दै गएको छ। नदीहरूको जलस्तर सामान्य अवस्थामा फर्किन अझ केही समय लाग्ने विभागले जनाएको छ।
प्रकाशित मिति: १९ आश्विन २०८२, आइतबार












प्रतिक्रिया