काठमाडौं । देशभर देखिएका बाढी, पहिरो र वर्षाजन्य विपद्का जोखिमलाई मध्यनजर गर्दै नेपाल प्रहरीले २० हजार ४८५ जनाको जनशक्ति परिचालन गरेको छ।
नेपाल प्रहरीका प्रहरी वरिष्ठ उपरीक्षक सन्तोषकुमार भट्टराईका अनुसार विपद् व्यवस्थापन कार्यालयहरू, मातहतका गुल्म र प्रहरी कार्यालयहरूबाट सो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएका हुन्।
उनले विशेषगरी कोशी प्रदेशमा जोखिम अझै उच्च रहेको बताउँदै स्थानीय प्रशासन, सशस्त्र प्रहरी र नेपाली सेनासँग संयुक्त रूपमा उद्धार तथा राहत कार्य भइरहेको जानकारी दिए।
काठमाडौं उपत्यकामा मात्रै शनिबार १ सय ३० जना प्रहरी परिचालित भएका छन्। तीमध्ये १५-१५ जनाको टोलीले र्याफ्टिङ बोटसहित उद्धार तयारीमा तैनाथ भई कार्यरत रहेको भट्टराईले बताए।
त्यस्तै, देशका सातै प्रदेशमा रहेका प्रदेश प्रहरी गुल्महरूमा करिब १ सय २५-१ सय २५ जना प्रहरी स्ट्यान्डबाइ अवस्थामा रहेर आवश्यकता अनुसार परिचालित भइरहेका छन्।
एसएसपी भट्टराईका अनुसार इलाममा गएको पहिरोमा पुरिएका व्यक्तिहरुको खोज तथा उद्धार कार्य निरन्तर जारी छ। उनले प्रहरी बललाई विपद् व्यवस्थापनका सबै चरणमा सक्रिय रहन निर्देशन दिइएको समेत जनाए।
प्रकाशित मिति: १९ आश्विन २०८२, आइतबार













प्रतिक्रिया