एजेन्सी ।  विश्वकै अग्रणी क्रिप्टोकरेन्सी बिटक्वाइन आइतबार नयाँ रेकर्ड उचाइमा पुगेको छ । यसको मूल्य एक लाख २५ हजार अमेरिकी डलरभन्दा माथि पुगेको छ ।

बिटक्वाइनको मूल्य एक लाख २५ हजार ६८९ डलरसम्म उक्लिएको छ । यसले यसअघि गत अगस्टमा कायम गरिएको एक लाख २४ हजार ५०० डलरको रेकर्डलाई तोडेको छ ।

advertisement

अमेरिकी सरकारको सटडाउनबारे लगानीकर्ताहरूमा देखिएको अनिश्चितता र सतर्कताले बिटक्वाइनको मूल्यमा बलियो वृद्धि ल्याएको विश्लेषकहरूले बताएका छन् ।

ब्लुमबर्ग न्युजका अनुसार अमेरिकी सेयर बजारमा हालै देखिएको लाभले पनि बिटक्वाइनको वृद्धिलाई थप ऊर्जा दिएको छ । लगानीकर्ताहरू अहिले सङ्घीय सरकारका कोषसम्बन्धी वार्ता जारी रहँदा सुरक्षित सम्पत्तिको खोजीमा छन् र बिटक्वाइन त्यसको प्रमुख विकल्प बन्दै गएको छ ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उहाँको परिवार पनि क्रिप्टोकरेन्सीका ठूला समर्थकका रूपमा परिचित छन् । उनिहरू विभिन्न क्रिप्टो परियोजनाहरूमा संलग्न रहँदै आएका छन् जसले उनिहरूको सम्पत्ति वृद्धि गर्न मद्दत गरेको मानिन्छ ।

ट्रम्प प्रशासनले डिजिटल सम्पत्तिप्रतिको समर्थनका माध्यमबाट आफ्नो डेमोक्रेटिक पूर्ववर्ती जो बाइडेनको सरकारअन्तर्गत क्रिप्टो उद्योगमाथि देखिएको संदेहपूर्ण दृष्टिकोण उल्ट्याएको हो । अमेरिकी कंग्रेसले यसै वर्ष जुलाईमा तीन ऐतिहासिक क्रिप्टोकरेन्सी विधेयक पारित गरेको थियो ।

यी नियामक सुधारहरूले बिटक्वाइनको मूल्य वृद्धिमा महत्त्वपूर्ण भूमिका खेलेका विश्लेषकहरूको भनाइ छ ।

क्रिप्टो प्राइम ब्रोकरेज कम्पनी फाल्कनएक्सका बजार विभागका सह–प्रमुख जोशुआ लिमले ब्लुमबर्ग न्युजसँग कुरा गर्दै भने, ‘इक्विटी, सुन र पोकेमोन कार्डजस्ता सम्पत्तिहरू सबै ऐतिहासिक उच्चस्तरमा पुगेका बेला बिटक्वाइनले डलर कमजोर भएको कथाबाट फाइदा उठाउनु कुनै आश्चर्य होइन ।’

प्रकाशित मिति: १९ आश्विन २०८२, आइतबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com