काठमाडौं । पूर्वाधार तथा यातायात विज्ञ आशिष गजुरेलले प्राकृतिक विपद्को सामना गर्न सक्षम गुणस्तरिय पूर्वाधार निर्माणमा राज्यले प्राथमिकता दिनुपर्ने बताएका छन् ।
नेपाली रेडियो नेटवर्कबाट प्रसारित ‘नेपाली बहस’ कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुरा गर्दै उनले विपद् आउँदा मात्र प्रतिक्रिया जनाउने होइन, त्यसअघि नै तयारीका पूर्वाधार विकास गर्न आवश्यक रहेको बताए ।
उनका अनुसार राज्यले मौसमसम्बन्धी पूर्वानुमान र सूचना प्रसारणमा केही प्रगति गरे पनि त्यो पर्याप्त छैन । “गत वर्ष जस्तै यस वर्ष पनि ५३ जनाले ज्यान गुमाइसकेका छन्,’ उनले भने, ‘सूचना प्रवाह र सार्वजनिक बिदा घोषणा गरेर मात्र जनधनको सुरक्षा हुँदैन, अब राज्यले विपदसँग जुध्न सक्ने पूर्वाधारमा लगानी गर्नैपर्छ।”
सडक पूर्वाधारको उदाहरण दिँदै उनले राजमार्ग निर्माणलाई केवल कालोपत्र गर्ने कार्यसम्म सीमित नराख्न सुझाव दिए । उनका अनुसार सडक सुरक्षित बनाउन पहिरो रोक्ने पर्खाल, पानी निकास प्रणाली र दीर्घकालीन मर्मतसम्भारमा ध्यान दिन जरुरी छ । ‘सानो वर्षा परेपछि सडक बिग्रने अवस्था आउँछ, त्यसैले एकपटकको लगानी दीर्घकालीन हुनुपर्छ,’ उनले जोड दिए ।
गजुरेलले नेपालका धेरै राजमार्गहरू नदी किनारमा रहेका कारण माथिबाट पहिरो र तलबाट नदी कटानको दोहोरो जोखिममा परेको बताए । सडक निर्माणका क्रममा अत्यधिक पहाड काटिएकाले पहिरोको समस्या बढेको उनको भनाइ छ । उनले कम क्षति हुने प्रविधि र डिजाइनमार्फत सडक निर्माण गरी क्षति न्यूनीकरणका उपाय अपनाउन राज्यलाई आग्रह गरे ।
प्रकाशित मिति: २० आश्विन २०८२, सोमबार













प्रतिक्रिया