काठमाडौं ।  नेकपा (एमाले)का नेता महेश बस्नेतले देशमा बढ्दो अराजकता, दण्डहीनता र लगानी संकटप्रति चिन्ता व्यक्त गर्दै सरकारप्रति कडा टिप्पणी गरेका छन्।

सोमबार सामाजिक सञ्जालमार्फत विचार व्यक्त गर्दै उनले आन्दोलनकारी र आक्रमणकारी लुटेराबीच भिन्नता गर्न आग्रह गर्दै भने, ‘लुटेरा र आगजनी गर्नेलाई कारबाही नगरी नेपालमा कसैले लगानी गर्दैन।’

advertisement

बस्नेतका अनुसार, देशमा सुधार केवल नेतृत्व परिवर्तनले होइन, सोच र जिम्मेवारीको परिवर्तनले सम्भव हुन्छ। उनले विगतमा सुरक्षा निकायले कर्तव्य त्याग्नु र नेताहरूले विवेक गुमाउनु दुबै राष्ट्रप्रतिको अपराध भएको टिप्पणी गरे।

उनले दण्डहीनता र अराजकताले देशलाई ‘भिल्ला राज्य’ बन्ने खतरा रहेको चेतावनी दिए। बस्नेतले विदेशी दलालहरूको योजनामा ‘नेपाली लुसिफरहरू’ले चलाएको आन्दोलनका नाममा युवाहरूलाई हिंसात्मक गतिविधिमा प्रयोग गरिएको आरोप लगाए।

‘हाम्रा नवयुवाहरूलाई शरीरमा बम राखेर चार घण्टामा देश ध्वस्त बनाइएको छ,’ उनले भने।

सरकारप्रति असन्तुष्टि जनाउँदै बस्नेतले अहिलेको सरकारले जनअपेक्षा पूरा गर्न नसकेर केवल स्वार्थमा सीमित भएको आरोप लगाए। उनले लेखे, ‘अहिलेको सरकार कुहिरोमा हराएको काग जस्तो भएको छ। यसले जनताको होइन, आफ्नो स्वार्थ पूरा गर्छ।’

बस्नेतले निष्कर्षमा न्याय, उत्तरदायित्व र निष्पक्ष शासनलाई नै देशमा स्थिरता र लगानीको प्रमुख आधारको रूपमा उल्लेख गरेका छन्।

प्रकाशित मिति: २० आश्विन २०८२, सोमबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com