एजेन्सी ।  पूर्वी भारतीय राज्य पश्चिम बङ्गालमा निरन्तरको वर्षाका कारण आएको पहिरोमा परी कम्तीमा २४ जनाको मृत्यु हुनुका साथै अन्य धेरै घाइते भएको अधिकारीहरूले सोमबार बताएका छन् ।

पश्चिम बङ्गालको राजधानी कोलकाताबाट करिब ६२६ किलोमिटर उत्तरमा रहेको दार्जिलिङ सहरमा आइतबार पहिरो जाँदा घरहरू बगाएको थियो भने सडकहरू काटान हुनुका साथै गाउँहरू तहस नहस भएको जनाइएको छ ।

advertisement

प्रकोपले व्यापक विनाश गर्नुका साथै हिमालयको फेदमा रहेको बस्तीका सयौं बासिन्दाका साथै पर्यटकहरू प्रभावित भएको जनाइएको छ ।

प्रकोपका कारण सुचना तथा सञ्चार सञ्जालहरु पनि बन्द भएको अधिकारीहरूले जनाएका छन् ।

अधिकारीहरुका अनुसार दार्जिलिङमा आइतबार भारी वर्षा हुँदा मिरिक र सुखिया पोखरीसहित धेरै क्षेत्रमा पहिरो गएपछि प्रहरी तथा विपद् व्यवस्थापन अधिकारीहरूले उद्धार अभियान सुरु गरेका थिए ।

पहिरोले सिक्किमलाई जोड्ने सडक र दार्जिलिङ र सिलिगुडीलाई जोड्ने सडकसहित प्रमुख मार्गहरूमा सडक अवरोध निम्त्याएको छ ।

अधिकारीहरूले कुनै पनि अप्रिय घटना हुन नदिन टाइगर हिल र रक गार्डेनसहित दार्जिलिङका पर्यटकीय स्थलहरू बन्द गरेका छन् ।

प्रभावित क्षेत्रका बासिन्दा तथा पर्यटकहरूलाई सावधान रहन र सडक तथा मौसमको अवस्थाबारे जानकार रहन आग्रह गरिएको छ ।

पश्चिम बङ्गालकी मुख्यमन्त्री ममता बनर्जीले आइतबार साँझ आपतकालीन बैठक बोलाइ सोमबार प्रभावित क्षेत्रहरूको भ्रमण गर्ने घोषणा गरेका छन् ।

अवस्था गम्भीर रहेको उल्लेख गर्दै भुटानमा भएको निरन्तर वर्षाका कारण उत्तर बङ्गालमा पानी भरिएको जनाइएको छ ।

प्राकृतिक प्रकोपहरू नियन्त्रण भन्दा बाहिर भएको बताउदै बनर्जीले १२ घण्टामा ३०० मिलिमिटर भन्दा बढी वर्षा रेकर्ड गरिएको र बर्षाले कम्तिमा सातवटा स्थानमा पहिरो र बाढी निम्त्यायोएको जनाएका छन् ।

भारी वर्षाले उत्तर बङ्गालका अन्य क्षेत्रहरू जस्तै जलपाईगुडी, सिलिगुडी र कुचबिहारलाई पनि असर गर्दा धेरै क्षेत्रहरूमा जलमग्न भएको छ ।

टेलिभिजन तस्बिरहरूमा नदीहरू भरिएको, क्षतिग्रस्त पुलहरू र बगाएका सडकहरू देखाइएको छ ।

भारतीय मौसम विभागले सोमबार सम्म दार्जिलिङ र कालिम्पोङसहित उप–हिमालयी पश्चिम बङ्गालमा भारी वर्षाको चेतावनी जारी गरेको छ । कुचबिहार र जलपाईगुडीका लागि रातो चेतावनी र दार्जिलिङ जिल्लाका लागि सुन्तला चेतावनी जारी गरिएको छ ।

 

प्रकाशित मिति: २० आश्विन २०८२, सोमबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com