काठमाडौं । नेकपा (एमाले) का नेता सूर्य थापाले ‘हामी नेपाली’ अभियानका संयोजक सुदन गुरुङ मन्त्रालयको बैठकमा उपस्थित भई उच्च तहका सरकारी कर्मचारीहरूलाई निर्देशन दिएको घटनाप्रति असन्तुष्टि व्यक्त गरेका छन्।
थापाले सामाजिक सञ्जालमार्फत प्रतिक्रिया दिँदै संविधान, कानुन र राज्यको जिम्मेवारी नचिन्ने व्यक्तिहरू सरकारी निकायमा हस्तक्षेप गर्दै गएको आरोप लगाए। उनले लेखेका छन्, ‘कहिले राष्ट्रपतिलाई धम्काउने, कहिले मन्त्रालयमा पुगेर मन्त्रीको अगाडि उच्च अधिकारीहरूलाई हप्कीदप्की गर्ने काम भइरहेको छ। अर्थमन्त्री र गृहमन्त्रीले समेत यस्तो व्यवहारलाई मौन सहमति जनाउनु दुःखद् कुरा हो।’
थापाले प्रधानमन्त्री सुशीला कार्कीप्रति पनि असन्तोष व्यक्त गर्दै सुदन गुरुङलाई दिएको सरकारी पहुँचप्रति प्रश्न उठाएका छन्। उनले भनेका छन्, ‘यदि यो व्यक्ति सरकारी जिम्मेवारीमा नियुक्त गरिएको हो भने औपचारिक रूपमा घोषणा गरिऔं, तर अनधिकृत व्यक्तिबाट सरकारी निकायमा निर्देशन दिने प्रचलन बन्द हुनुपर्छ। लोकतन्त्रमा यस्तो गैरजिम्मेवार हस्तक्षेप अस्वीकार्य छ।’
थापाले विदेशी प्रभावमा आधारित दलाल प्रवृत्तिको विस्तारले लोकतान्त्रिक प्रणालीलाई कमजोर बनाइरहेको दाबी गर्दै जिम्मेवार पदाधिकारीहरूलाई संयम र मर्यादामा रहन आग्रह गरेका छन्।
प्रकाशित मिति: २० आश्विन २०८२, सोमबार













प्रतिक्रिया