काठमाडौं । जेन–जी आन्दोलनपछि नेकपा (एमाले) भित्र नेतृत्व परिवर्तन र पार्टी पुनर्गठनको बहस तीव्र बनेको छ। आन्दोलनका क्रममा संविधान र राजनीतिक व्यवस्थामै धक्का पुगेको मूल्यांकनसहित अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले नैतिकताको आधारमा नेतृत्व छाड्नुपर्ने आवाज पार्टीभित्रै उठ्न थालेको छ।
हालसम्म औपचारिक रूपमा कुनै समिति वा बैठकमा यो एजेन्डा प्रवेश नगरे पनि आन्तरिक संवाद र छलफलमा ओलीको विकल्पबारे व्यापक बहस भइरहेको एमाले स्रोतले जनाएको छ।
पार्टीभित्र केही शीर्ष नेताहरू अहिलेको संवेदनशील अवस्थालाई मध्यनजर गर्दै तत्काल नेतृत्व परिवर्तन गर्न नहुने पक्षमा छन्। महासचिव शंकर पोखरेल, उपमहासचिव विष्णु रिमाल र प्रदीप ज्ञवाली यस समूहमा रहेका छन्। तर, बाँकी नेताहरू भने ओलीले जिम्मेवारी हस्तान्तरण गर्दै वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेललाई कार्यवाहक अध्यक्ष बनाई महाधिवेशनमार्फत नयाँ नेतृत्व छनोट गर्नुपर्ने पक्षमा छन्।
ओलीले भने दुवै धारलाई अस्वीकार गर्दै आफ्नो पद नछोड्ने अडान लिएका छन्। एक सचिवालय सदस्यका अनुसार, “जेन–जी आन्दोलनपछि ओली सचिवालयमा अल्पमतमा परे पनि उनले अझै नेतृत्व सम्हाल्ने इच्छा प्रष्ट देखाएका छन्।”
एमालेभित्र पूर्वराष्ट्रपति विद्या भण्डारी निकट समूह पनि सक्रिय छ। उक्त समूहले आउँदो केन्द्रीय कमिटी बैठकमा भण्डारीलाई औपचारिक रूपमा पार्टी नेतृत्वमा ल्याउने प्रयास गरिरहेको छ। यो सम्भव नभएमा ईश्वर पोखरेललाई अध्यक्षका रूपमा अघि सार्ने तयारी गरिएको बताइन्छ।
भण्डारी पक्षले वर्तमान नेतृत्व परिवर्तनमार्फत पार्टी पुनर्गठन गरी छरिएका कम्युनिस्ट शक्तिहरूलाई एकीकृत गर्ने दीर्घकालीन योजना अघि सारेको स्रोतले जानकारी दिएको छ।
जेन–जी आन्दोलनपछि असोज दोस्रो साता गुण्डुस्थित अस्थायी निवासमा बसेको सचिवालय बैठकमा ओलीले आन्दोलन र त्यसपछिका घटनाबारे आफ्नो कमजोरी स्विकार नगरेको भन्दै कतिपय सदस्य असन्तुष्ट भएका थिए। एक पदाधिकारीका अनुसार, “ओलीले आन्दोलनलाई घुसपैठ र षड्यन्त्रको परिणाम भने पनि त्यो तर्क अब विश्वासिलो छैन। पार्टीभित्र अब नयाँ नेतृत्वको आवश्यकता महसुस भइरहेको छ।”
एमालेभित्र तेस्रो धारका रूपमा रहेको भण्डारी समूहको भूमिकाले पनि आगामी सचिवालय र केन्द्रीय कमिटी बैठकको दिशा निर्धारण गर्ने अपेक्षा गरिएको छ। असोज २४ गते बस्ने सचिवालय बैठकमा जेन–जी आन्दोलनको समीक्षा र भावी रणनीतिबारे विस्तृत छलफल हुने तयारी छ।
उपमहासचिव प्रदीप ज्ञवालीका अनुसार, असोज २७ देखि २९ गतेसम्म बस्ने केन्द्रीय कमिटी बैठकले महाधिवेशनको मिति निर्धारण गर्नेसहित नेतृत्व र संगठनात्मक पुनर्संरचनाबारे महत्वपूर्ण निर्णय लिने सम्भावना छ।
एमालेभित्र बढ्दो आन्तरिक असन्तोष र विभाजित धारले गर्दा अबको बैठकहरू ओलीको राजनीतिक भविष्य र पार्टीको आगामी दिशाको निर्णायक मोड हुने देखिएको छ।
प्रकाशित मिति: २० आश्विन २०८२, सोमबार













प्रतिक्रिया