काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले देशको समृद्धि, जनआकांक्षा र राजनीतिक स्थायित्वका लागि संघीय लोकतान्त्रिक गणतन्त्रको पुनःसंरचना अपरिहार्य भएको बताएका छन्।
लहानमा आज जसपा जिल्ला समितिद्वारा आयोजित पार्टी प्रवेश तथा शुभकामना आदानप्रदान कार्यक्रममा बोल्दै अध्यक्ष यादवले प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुख र पूर्ण समानुपातिक निर्वाचन प्रणाली नै स्थायित्वको आधार बन्ने दाबी गरे।
उनका अनुसार वर्तमान प्रणालीले भ्रष्टाचारलाई प्रोत्साहन गरेको छ। “आजको व्यवस्थामा चुनाव जित्न करोडौँ खर्च गर्नुपर्ने बाध्यता छ,” यादवले भने, “त्यसैले जनताका प्रतिनिधिहरू सेवा गर्न होइन, लगानी असुल गर्न भ्रष्टाचारमा उत्रिन्छन्। यस्तो संस्कृतिको अन्त्य गर्न निर्वाचन प्रणाली पूर्ण समानुपातिक बनाउनैपर्छ।”
अध्यक्ष यादवले पछिल्लो १० वर्षमा ११ पटक सरकार परिवर्तन हुनु संसदीय व्यवस्थाको अस्थिरता र असफलताको स्पष्ट प्रमाण भएको उल्लेख गरे। उनले भने, “यस्तो प्रणालीले नीति निर्माणमा स्थायित्व दिन सक्दैन, न त जनताको विश्वास जित्न।”
उनका अनुसार संसद्ले केवल कानुन निर्माण गर्ने र प्रत्यक्ष निर्वाचित राष्ट्रपतिलाई कार्यकारिणी प्रमुख बनाउने प्रणालीले मात्रै राजनीतिक स्थायित्व र जवाफदेहिता सुनिश्चित गर्न सक्छ।
यादवले जनसंख्याको अनुपातमा प्रतिनिधिसभा र राष्ट्रियसभामा प्रतिनिधित्व हुनुपर्ने आवश्यकता औंल्याउँदै वर्तमान प्रतिनिधित्व प्रणालीले केही विशेष वर्ग र शक्तिशाली दलहरूलाई मात्र फाइदा पुर्याएको आरोप लगाए।
उनले नयाँ पुस्ता — “जेनजी” — का आवाज र आकांक्षा सम्बोधन गर्न संविधान पुनर्लेखन गर्नुपर्ने पनि जोड दिए।
प्रकाशित मिति: २० आश्विन २०८२, सोमबार













प्रतिक्रिया