काभ्रे । यही असोज १८ र १९ गतेको वर्षापछिको रोशी खोलाको बाढीपहिरोले क्षतिग्रस्त बीपी राजमार्गमा पुनः अस्थायी सडक डाइभर्सन बनाउन सुरु गरिएको छ । दुई दिनको बाढीपछि रोशी खोलामा पानीको बहाव कम हुँदै गएपछि आइतबारदेखि डाइभर्सन बनाउन सुरु गरिएको हो ।

डिभिजन सडक कार्यालय भक्तपुरले रोशी गाउँपालिका र नमोबद्ध नगरपालिकाको समन्वयमा खोला एकतर्फी फर्काएर पुनः डाइभर्सन निर्माण गर्न थालेको हो । गत वर्षको असोजमा बाढीपहिरोबाट क्षतिग्रस्त सोही क्षेत्रको विभिन्न स्थानमा करिब आठ किलोमिटर सडक डाइभर्सन गरी अस्थायी रुपमा सञ्चालन गर्दै आइएको थियो । सोही क्षेत्रको सडकखण्ड शनिबार र आइतबारको बाढीपहिरोले पुनः क्षतिग्रस्त बनाएको हो ।

advertisement

राजमार्गअन्तर्गत काभ्रेपलाञ्चोकको चौकीडाँडाको एक स्थान तथा सिन्धुलीतर्फको अन्य तीनचार स्थानबाट अस्थायी सडक बनाउन सुरु गरिने कार्यालयका सूचना अधिकारी इञ्जिनियर बिन्दु अधिकारीको भनाइ छ । उनका अनुसार रोशी खोलाको किनारैकिनार सडक लैजानुपर्ने तथा सडकको कुनै अवशेष नै नरहेकाले पानीको सतहभन्दा उचाइमा डाइभर्सन पुनर्निर्माण गरिनेछ ।

शनिबार र आइतबारको बाढीपहिरोले क्षतिग्रस्त बीपी राजमार्गअन्तर्गत सिन्धुलीतर्फबाट पनि सोमबारदेखि नै पुनः डाइभर्सन बनाउन लागिएको छ । सिन्धुलीको नेपालथोकबाट डाइभर्सन बनाउन सुरु भएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रमुख प्रहरी उपरीक्षक लालध्वज सुवेदीले बताए ।

उनका अनुसार सिन्धुलीस्थित डिभिजन सडक कार्यालय खाल्टेले बीपी राजमार्गको नेपालथोकतर्फबाट हाल दुई वटा एक्साभेटर प्रयोग गरेर डाइभर्सन बनाउन सुरु गरिएको हो ।

सिन्धुलीबाट काभ्रेपलाञ्चोकतर्फको नमोबुद्धको चौकीडाँडासम्मको विभिन्न स्थानमा सडक बगाउनुका साथै क्षतिग्रस्त भएपछि पूर्ण रुपमा उक्त राजमार्ग अवरुद्ध भएको हो । हाल वैकल्पिक मार्गका रुपमा सवारीसाधन खुर्कोट–मन्थली हुँदै अरनिको राजमार्ग र सिन्धुली–हेटौँडा हुँदै काठमाडौं आवतजावत भइरहेका छन् ।

बीपी राजमार्गअन्तर्गत चौकीडाँडा, घुमाउने, माम्तीलगायतका क्षेत्रमा रोशी खोलाले राजमार्ग कटान गरेका कारण पैदल यात्रासमेत गर्नसक्ने अवस्था नरहेको जिल्ला प्रहरी कार्यालय काभ्रेले जनाएको छ ।

प्रकाशित मिति: २१ आश्विन २०८२, मंगलबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com