काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का प्रवक्ता ज्ञानेन्द्र शाहीले प्रधानमन्त्रीलाई देश विधिको शासन अनुसार सञ्चालन गर्नका लागि अपिल गरेका छन्। उनले सरकारलाई विधि, नीति र प्रक्रियालाई मुख्य आधार बनाएर शासन गर्न आग्रह गर्दै देश कुनै व्यक्ति वा समूहको नभई सबै नेपालीको साझा भएको यथार्थ मनन गर्न ध्यानाकर्षण गराएका हुन्।
सांसद शाहीले सामाजिक सञ्जालमार्फत प्रधानमन्त्रीलाई सम्बोधन गर्दै भनेका छन्, ‘विदेशी राजदूतावास केन्द्रित भएर कसैको दबाबमा परेर सरकार चलाउने होइन। विधिको शासन र न्यायिक प्रक्रिया मिलाएर सरकार चलाउने हो।’
उनले सरकारलाई आन्दोलनको म्यान्डेट नबिर्सन र परिवर्तनका लागि बलिदान दिने सहिद, घाइते एवं पीडितलाई न्याय दिन विशेष जोड दिएका छन्। शाहीले सरकारका हरेक निर्णय कानुनी दायरा र न्यायिक निष्पक्षता भित्र रहेर गर्नुपर्ने आवश्यकता औँल्याएका छन्।
देशलाई साझा सम्पत्ति ठान्दै सबै नागरिकले न्याय र समानताको अनुभूति गर्न पाउने वातावरण निर्माण गर्न सरकारले आफ्नो कार्यशैलीमा सुधार ल्याउनुपर्ने उनको सुझाव छ।

प्रकाशित मिति: २१ आश्विन २०८२, मंगलबार













प्रतिक्रिया