काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले विशेष महाधिवेशनको मागका लागि इच्छुक नेताहरूलाई असोज २४ गतेभित्र हस्ताक्षर गर्न आग्रह गरेका छन् ।
मंगलबार एक भिडियो सन्देश जारी गर्दै उनले आफूले कसैलाई व्यक्तिगत रूपमा फोन गरेर हस्ताक्षर गर्न नभनेको तर सोध्नेहरूलाई मात्र समर्थन जनाएको स्पष्ट पारे । उनका अनुसार विशेष महाधिवेशन पार्टी कमजोर बनाउन नभई विधानअनुसारको प्रक्रिया अन्तर्गत पार्टीलाई सबल बनाउनका लागि हो ।
‘विशेष महाधिवेशनको मागमा हस्ताक्षर गर्न चाहनुहुन्छ भने असोज २४ भित्रै गर्नुस्,” शर्माले भने, “किनभने साथीहरूले असोज २५ गते नै केन्द्रीय कार्यालयमा हस्ताक्षर दर्ता गर्ने तयारी गर्नुभएको छ । सँगसँगै उभिन चाहनुहुन्छ भने अब पर्खनुपर्ने कुनै कारण छैन।’
महामन्त्री शर्माले केन्द्रीय कार्यसमितिको ४० प्रतिशत सदस्यले हस्ताक्षर गरेमा समितिले आफैं विशेष महाधिवेशन बोलाउन सक्ने व्यवस्था रहेको भन्दै सो दिशामा छलफल अघि बढाइने बताए । ‘यो सुझाव एकदमै यथार्थपरक छ, विधानले पनि यही अधिकार दिएको छ,’ उनले भने, ‘असोज २६ गतेको केन्द्रीय समितिको बैठकमा यो विषयबारे विस्तृत छलफल हुनेछ।”
उनका अनुसार, अहिलेको परिस्थितिमा कांग्रेस स्थिर पोखरीजस्तो निष्क्रिय बसिरहनु नहुने बताउँदै उनले पार्टीलाई नयाँ दिशामा लैजान निर्णायक निष्कर्षमा पुगिने विश्वास व्यक्त गरे ।
शर्माले नियमित महाधिवेशनलाई नै सर्वोत्तम विकल्प भन्दै त्यसले पार्टीमा ताजा नेतृत्व र नयाँ ऊर्जा भर्ने बताए । “तलदेखि माथिसम्म युवाहरूको व्यापक सहभागिता बढाउन सकिन्छ, कांग्रेसले फेरि उत्साहका साथ अघि बढ्नेछ,” उनले भने ।
उनले छोटो समयमा पनि कांग्रेसले नियमित महाधिवेशन सम्पन्न गर्न सक्ने विश्वास व्यक्त गर्दै भने, “यदि नियमित महाधिवेशन सम्भव भएन भने विशेष महाधिवेशन स्वतः विकल्प हुनेछ ।”
परिवर्तनलाई आत्मसात् गर्न पार्टीले तयार हुनुपर्ने बताउँदै उनले थपे, “जो समयसँग बदलिन्छन्, उनीहरू नै नेतृत्व लिन सक्षम हुन्छन् । जो बदलिँदैनन्, इतिहासले उनीहरूलाई बिदा दिन्छ।”
प्रकाशित मिति: २१ आश्विन २०८२, मंगलबार













प्रतिक्रिया