काठमाडौं । प्रमुख राजनीतिक दलका युवाहरूले ‘जेन-जी आन्दोलन’को मर्म आत्मसात् गर्दै पार्टी पुनर्गठन र नेतृत्व हस्तान्तरणको माग गरेका छन्। नेकपा (एमाले) का दुई केन्द्रीय सदस्यसहित माओवादी केन्द्र र एकीकृत समाजवादीसँग आवद्ध २८ जना युवाले मंगलबार सामूहिक विज्ञप्ति जारी गर्दै पार्टीभित्र पुस्तान्तरण र सुधारको मार्ग प्रशस्त गर्न नेताहरूलाई आग्रह गरेका हुन्।
सामूहिक विज्ञप्तिमा भनिएको छ ,’जेन-जी आन्दोलनले नेतृत्व हस्तान्तरण र पुस्तान्तरणको चाहना जनाएको हो। यो आवाजलाई नसुन्नु वा नबुझ्नु देशका लागि अझै घातक हुनेछ।’
विज्ञप्तिमा हस्ताक्षर गर्नेहरूमध्ये नेकपा (एमाले) का केन्द्रीय सदस्य उषाकिरण तिम्सेना र अरविन्द सिंह, एकीकृत समाजवादीका अशेष घिमिरे र करूणा पराजुली, माओवादी केन्द्रसम्बद्ध अखिल (क्रान्तिकारी) का उपाध्यक्ष विराज थापा र ममता अधिकारी प्रमुख छन्।
यी २८ जनाले विज्ञप्तिमा लेखेका छन्, ‘राजनीतिमा संस्थागत भएको भ्रष्टाचार, जिम्मेवारीविहीनता र सत्ता कब्जाको प्रवृत्तिका कारण देश असन्तुष्ट र अस्थिर बन्दै गएको छ। यही अवस्थाले जेन–जी आन्दोलनलाई अपरिहार्य बनायो। त्यस आन्दोलनले नेपाली समाजको ज्वलन्त मागलाई प्रतिनिधित्व गरेको छ र हामी त्यसप्रति उच्च सम्मान प्रकट गर्छौं।’
उनीहरूले नेपाली जनता पारदर्शी, परिणाममुखी र भ्रष्टाचारमुक्त शासन प्रणाली चाहन्छन् भन्दै दलहरू जिम्मेवार बन्नुपर्नेमा जोड दिएका छन्। विज्ञप्तिमा भनिएको छ,’ राजनीतिक दलका पुराना नेताहरूले फेरि पनि विभिन्न बहानामा सत्तामा टाँसिरहन खोजेका छन्। यस्तो प्रवृत्तिले लोकतान्त्रिक भविष्यलाई संकटमा पार्नेछ।’
जेन–जी आन्दोलनमा देखिएका हिंसात्मक गतिविधिहरूको निन्दा गर्दै उनीहरूले निष्पक्ष छानबिन आयोग गठनको मागलाई समर्थन जनाएका छन्। साथै, आन्दोलनको भावना प्रयोग गरी देशलाई अस्थिरता वा भूराजनीतिक खेलतर्फ धकेल्ने कुनै पनि प्रयासको विरोध गर्ने चेतावनी दिएका छन्।
“संविधान, संघीय लोकतान्त्रिक गणतन्त्र र नयाँ निर्वाचन प्रक्रियाको पक्षमा हामी स्पष्ट छौं। नेतृत्वमा पुस्तान्तरण र दलहरूको पुनर्गठन लोकतान्त्रिक भविष्यका लागि आवश्यक सर्त हो,” विज्ञप्तिमा भनिएको छ।
युवाहरूले अहिलेको अवस्थामा देश दुई बाटोमा उभिएको बताएका छन् –
पहिलो, लोकतान्त्रिक सहकार्य र नयाँ आशाको बाटो;
दोस्रो, पुरानै नेताको निरन्तरता, निराशा र अस्थिरताको दुश्चक्र।
विज्ञप्तिमा भनिएको छ ।, ‘दलहरूमा पुनर्गठन नगरी जनतामा विश्वास पुनःस्थापना गर्न सकिँदैन। लामो समयदेखि राजनीतिलाई असफल बनाउँदै आएका नेताहरूलाई बिदा गरेर मात्र नयाँ सुरुवात सम्भव छ।’
अन्त्यमा उनीहरूले सबै राजनीतिक दलका दोस्रो–तेस्रो तहका नेताहरूलाई आफ्ना दलभित्र सुधार, पुनर्गठन र पुस्तान्तरणका लागि पहल गर्न आह्वान गरेका छन्।

प्रकाशित मिति: २१ आश्विन २०८२, मंगलबार













प्रतिक्रिया