काठमाडौं । प्रधानमन्त्री सुशीला कार्की आज दिउँसो नेपाली राजदूतहरू र विभिन्न देशका नियोग प्रमुखहरूसँग सामूहिक भर्चुअल बैठक गर्दै छिन्। बैठक आज साँझ ४ बजे हुने तय भएको छ।
परराष्ट्र मन्त्रालयका अनुसार प्रधानमन्त्री कार्कीले मुलुकको हालको राजनीतिक तथा आर्थिक अवस्था, अन्तर्राष्ट्रिय सम्बन्ध, वैदेशिक लगानी र पर्यटन क्षेत्रको पुनःस्थापनासम्बन्धी विषयमा राजदूतहरूसँग विस्तृत छलफल गर्नेछिन्।
परराष्ट्र मन्त्रालयको कार्यभार पनि सम्हालिरहेकी प्रधानमन्त्री कार्कीले छलफलपछि राजदूतहरूलाई आवश्यक निर्देशन दिने तयारी गरेकी छन्। मन्त्रालयका प्रवक्ता लोकबहादुर क्षेत्रीका अनुसार बैठकले विदेशस्थित नेपाली नियोगहरूको कार्यसम्पादन र सहकार्यका प्राथमिकता तय गर्नेछ।
जेन-जी आन्दोलनपछिको परिस्थितिमा केही देशले भिजिट भिसा जारीमा रोक लगाएका छन्, जसले नेपालको पर्यटन र वैदेशिक लगानीमा असर पारेको बताइन्छ। यही पृष्ठभूमिमा प्रधानमन्त्री कार्कीले राजदूतहरूसँग वर्तमान चुनौती र समाधानका उपायबारे प्रत्यक्ष जानकारी लिनुका साथै समन्वित रणनीति तय गर्ने उद्देश्यले बैठक आयोजना गरेको बताइएको छ।
प्रकाशित मिति: २२ आश्विन २०८२, बुधबार













प्रतिक्रिया