काठमाडौं । नेकपा एमालेका नेता महेश बस्नेतले जेन–जी आन्दोलनका क्रममा भएका आपराधिक घटनाको निष्पक्ष छानबिन गर्न गठित गौरीबहादुर कार्की नेतृत्वको जाँचबुझ आयोगलाई खुला चुनौती दिएका छन्।
बुधबार आयोजित पत्रकार सम्मेलनमा बस्नेतले आन्दोलनका क्रममा आन्दोलनकारी पक्षबाट समेत हतियार प्रयोग भएको दाबी गर्दै, त्यसबारे आयोगले निष्पक्ष अनुसन्धान गर्नुपर्ने माग गरे।
उनले रास्वपा सभापति रवि लामिछानेलाई नक्खु कारागारबाट मुक्त गराउन गएका सो पार्टीका नेताहरू डीपी अर्याल, मनिष झा र ज्वाला संग्रौलामाथि पनि छानबिन हुनुपर्ने बताए।
बस्नेतले प्रश्न उठाउँदै भने, ‘विद्रोहका क्रममा भागेका १४ हजार कैदी अहिले कहाँ छन्? पाँच सय प्रहरी चौकी जलाउँदा लुटिएका १२ हजार हतियार र २० हजार गोली कहाँ हराए? यी सबै तथ्यको जवाफ खोज्नुपर्ने बेला आएको छ।’
उनले विदेशी साम्राज्यवादी शक्तिहरूले पुनः नेपालमाथि आक्रमण गर्ने सम्भावना रहेको दाबी गर्दै सुरक्षा संरचना र राष्ट्रिय हितका सवालमा सरकारले बेवास्ता गरेको आरोप लगाए।
बस्नेतले गृह मन्त्री सुदन गुरुङमाथि व्यङ्ग्य गर्दै भने, ‘प्रहरीलाई जिउँदै जलाउनेहरूलाई कारबाही गर्नुको साटो गृह मन्त्री गुलेली खेलाउँदै बस्छन्, कुलमान घिसिङ ठेक्का उठाउनेमा व्यस्त छन्।’
त्यस्तै उनले अर्थमन्त्री रामेश्वर खनालमाथि पनि टिप्पणी गर्दै प्रधानमन्त्री सुशीला कार्कीलाई प्रश्न गरे, ‘के तपाईंहरू अहिले प्रतिशोधको राजनीति गर्न खोज्दै हुनुहुन्छ?’
बस्नेतले आफूलाई सरकारको ‘तेस्रो लक्ष्य’ बनाइएको दाबी गर्दै भने, ‘पहिलो टार्गेट केपी ओली, दोस्रो अन्य नेता र तेस्रो म। ममाथि नबनिएको मुद्दा बनाएर गिरफ्तार गर्ने षड्यन्त्र चलाइएको छ, तर अदालतले त्यो प्रयास अस्वीकार गर्यो।’
साइबर ब्युरोमा बयान दिएर आएको बताउँदै उनले भने, ‘मसँग लुकाउने केही छैन। म कानुन र विधिको शासनको पक्षमा छु। यदि अपराध गरेको प्रमाण छ भने मलाई समातेर देखाउनुस् — म जेल जान तयार छु।’
प्रकाशित मिति: २२ आश्विन २०८२, बुधबार













प्रतिक्रिया