काठमाडौं । नेकपा एमालेका पोलिटब्युरो सदस्य महेश बस्नेतले पूर्वप्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीमाथि सरकारले कारबाही गर्न नसकेको भन्दै खुला चुनौती दिएका छन्।
बुधबार पार्टी कार्यालय च्यासलमा आयोजित पत्रकार सम्मेलनमा बस्नेतले भने, ‘केपी ओली दोषी हुनुहुन्छ भने हिम्मत छ भने पक्राउ गरेर देखाउनुहोस्।’ उनले थपे, ‘तिम्रो बाउको हिम्मत छ’ भन्नु शब्द नराम्रो भए पनि यही सन्देश हो—सर्वसाधारणले न्याय पाउनुपर्छ।’
बस्नेतले यो चुनौती जेनजी युवा आन्दोलनमा सरकारको दमनको विरोधमा केही जेनजी अगुवाहरूले मंगलबार पेश गरेको उजुरीको पृष्ठभूमिमा दिएका हुन्। उक्त उजुरी प्रहरीले गौरीबहादुर कार्की नेतृत्वको उच्चस्तरीय जाँचबुझ आयोगमा पठाइसकेको थियो।
उक्त अवसरमा बस्नेतले दलका नेताहरूको सम्पत्ति शुद्धीकरण सम्बन्धी अनुसन्धानमा असमान व्यवहार भएको भन्दै आक्रोश व्यक्त गरे। उनले युवाहरूको बलमा सत्ता पुगेका नेताहरू, विशेष गरी अर्थमन्त्री रामेश्वर खनाल र ऊर्जामन्त्री कुलमान घिसिङबाट अनुसन्धान सुरु गर्नुपर्ने बताए।
बस्नेतले भ्रष्टाचारको आरोप नबिना प्रमाण कसैमाथि लगाउन नपाइने पनि स्पष्ट पारे। उनले भने, ‘हामी ‘दूधले नुहाएका’ होइनौँ, तर यदि मैले भ्रष्टाचार गरेको प्रमाण छ भने कारबाही गरियोस्। होइन भने अरूलाई मात्रै भ्रष्टाचारी भनेर आरोप लगाउन पाइन्छ?’
जेनजी युवा आन्दोलन र त्यसपछिको राजनीतिक परिस्थितिबारे ओलीले युवा संघको कार्यक्रममा धारणा व्यक्त गरिसकेको भए पनि बस्नेतले अरु नेताहरूको विचार पनि सार्वजनिक हुने बताए।
‘भोलि पार्टीका महत्वपूर्ण नेताहरूले धारणा राख्नेछन्। २४ गते सचिवालय र २७ गते केन्द्रीय समिति बैठक हुँदैछ। यो महिनाको अन्त्यसम्ममा एमालेले आफ्ना आधिकारिक धारणा सबै सार्वजनिक गर्नेछ,’ बस्नेतले जानकारी दिए।
प्रकाशित मिति: २२ आश्विन २०८२, बुधबार













प्रतिक्रिया