काठमाडौं । कास्कीको लिचीबारी जग्गा प्रकरणमा ३२ लाख रुपैयाँ घुस लिएको आरोप लागेका तत्कालीन भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री बलराम अधिकारीमाथि छुट्टै अनुसन्धान हुने भएको छ।
विशेष अदालत काठमाडौंमा मुद्दा नम्बर ०७४–cr–०१६७ मा भएको आदेशअनुसार अधिकारीविरुद्ध अलग्गै अनुसन्धान प्रक्रिया अघि बढाउने निर्णय भएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रवक्ता राजेन्द्रकुमार पौडेलले जानकारी दिए।
यो प्रकरणमा अधिकारीसँगै संलग्न रहेका पूर्वमन्त्रीद्वय राजकुमार गुप्ता र रञ्जिता श्रेष्ठविरुद्ध भने बुधबार विशेष अदालतमा मुद्दा दर्ता भइसकेको छ। तर अधिकारीविरुद्धको अनुसन्धान भने पृथक रूपमा अघि बढाइने भएको हो।
प्रवक्ता पौडेलका अनुसार फरक–फरक समयमा भएका घटना र फरक निर्णयकर्ताको संलग्नता भएकाले प्रत्येक प्रकरणलाई छुट्टै मिसिल खडा गरी अनुसन्धान गर्न लागेको हो।
अख्तियारका अनुसार पूर्वमन्त्री अधिकारीले बिचौलिया सुजनकुमार तामाङमार्फत ३२ लाख रुपैयाँ घुस लिएको आशंका छ। त्यस्तै सुजनमार्फत तत्कालीन सचिव अर्जुनप्रसाद पोखरेलले ५ लाख रुपैयाँ, १० हजार रुपैयाँ बराबरको मदिरा र दुईवटा कुखुरा लिएको आरोप पनि छ।
प्रवक्ता पौडेलले भने, ‘मुद्दाहरू फरक प्रकृतिका भएका कारण अख्तियारले छुट्टै मिसिल बनाएर अनुसन्धान अघि बढाउन सक्छ। सोही प्रावधानअनुसार हामीले छुट्टै अनुसन्धान सुरु गरेका हौं।’
यसैबीच, मालपोत कार्यालय कास्कीका नायब सुब्बा दीपक सुवेदीले ७० लाख रुपैयाँ खर्च गरेर चिरञ्जीवी पौडेललाई मालपोत कार्यालयमा ल्याएको आरोपमा समेत छुट्टै अनुसन्धान हुने भएको छ। सुवेदीमाथि सेवाग्राहीसँग चार पटकसम्म हवाई टिकट किन्न लगाएको आरोप पनि छ।
यस्तै, पूर्वमन्त्री रञ्जिता श्रेष्ठकी पिएसओ रोशन लोहनीले ११ लाख रुपैयाँ घुस लिएको विषयमा समेत अलग्गै अनुसन्धान प्रक्रिया अघि बढाइने अख्तियारका प्रवक्ता पौडेलले जानकारी दिए।
प्रकाशित मिति: २२ आश्विन २०८२, बुधबार












प्रतिक्रिया