काठमाडौं । माइतीघरदेखि नयाँ बानेश्वरसम्मको क्षेत्र अहिले कडा सुरक्षा घेराभित्र राखिएको छ ।
जेन–जी समूह र विभिन्न पक्षबीच बढ्दो तनाबका कारण उक्त क्षेत्रमा ठूलो संख्यामा नेपाल प्रहरी र सशस्त्र प्रहरीका टोलीहरू परिचालन गरिएको हो ।
हालै जेन–जी समूहले तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली र गृहमन्त्री रमेश लेखकविरुद्ध प्रहरीमा उजुरी दिएको थियो । त्यसको केही समयपछि नेकपा (एमाले)को विद्यार्थी संगठन अनेरास्ववियुले काठमाडौं महानगरका मेयर बालेन शाह र जेन–जीका अगुवा सुदन गुरुङविरुद्ध जाहेरी दर्ता गरेको थियो ।
प्रहरीले जेन–जी समूहको जाहेरी उच्चस्तरीय छानबिन आयोगमा पठाइसकेको छ भने बालेन र सुदनविरुद्धको जाहेरी पनि आयोगमा पठाउने तयारी भइरहेको बताइएको छ ।
दुवै पक्षले एक–अर्काविरुद्ध कानुनी कारबाहीको बाटो लिँदै माइतीघर क्षेत्रमा टाँगिएका ब्यानर हटाउने र नयाँ ब्यानर राख्ने प्रयास भएपछि स्थिति संवेदनशील बनेको हो ।
यही कारण माइतीघर–बानेश्वर आसपासका क्षेत्रमा अहिले विशेष सतर्कता अपनाउँदै सुरक्षा व्यवस्था थप कडा पारिएको छ ।
प्रकाशित मिति: २३ आश्विन २०८२, बिहिबार













प्रतिक्रिया