काठमाडौँ । जापनिज इन्सेफ्लाइटिस सङ्क्रमणबाट यस वर्ष देशभर ३१ जनाको मृत्यु भइसकेको छ । नेपालमा १० वर्षको तुलनामा जापनिज इन्सेफ्लाइटिसको सङ्क्रमणबाट मृत्यु हुनेको सङ्ख्या अहिलेसम्मको सबैभन्दा धेरै रहेको स्वास्थ्य सेवा विभाग परिवार कल्याण महाशाखा बालस्वास्थ्य तथा खोप शाखा प्रमुख डा. अभियान गौतमले जानकारी दिए ।

जापनिज इन्सेफ्लाइटिसबाट सन् २०२४ मा २५, सन् २०२३ मा सात र सन् २०१७ मा एक जनाको मात्र निधन भएको थियो । सन् २०१८ देखि २०२२ सम्म जापनिज इन्सेफ्लाइटिसबाट कसैको पनि मृत्यु भएको थिएन । “विगत १० वर्षको तुलनामा अहिले मृत्यु हुनेको सङ्ख्या धेरै हो”, उनले भने, “मृत्यु हुनेमा खोप नलगाएका ४० वर्षभन्दा माथिका रहेका छन् ।”

advertisement

उनका अनुसार यस वर्ष जापनिज इन्सेफ्लाइटिस सङ्क्रमण १६४ र गत वर्ष ८६ जनामा देखिएको थियो । खोप शाखा प्रमुख डा गौतमले खोप लगाएकामा बिस्तारै खोपले काम गर्न छाडेपछि पनि सङ्क्रमणले गर्दा मृत्यु भइरहेको बताए । जापनिज इन्सेफ्लाइटिस अहिले ४२ जिल्लाका ११० पालिकामा फैलिएको छ ।

“विगतको तथ्याङ्क हेर्दा जापनिज इन्सेफ्लाइटिसको सङ्क्रमण बढ्दै गइरहेको छ”, उनले भने, “लामखुट्टे सक्रिय भएर हो कि, सुँगुर वा हाँसको पालनले गर्दा हो त्यसको अध्ययन हामीले गरिरहेका छौँ ।” उनका अनुसार यस वर्ष कोशी प्रदेशमा चार, मधेस प्रदेशमा तीन, बागमती प्रदेशमा पाँच, गण्डकी प्रदेशमा पाँच, लुम्बिनी प्रदेशमा ११, कर्णाली प्रदेशमा एक र सुदूरपश्चिम प्रदेशमा दुई गरी ३१ जनाको मृत्यु भएको छ ।

इन्सेफ्लाइटिसबाट २८ जिल्ला उच्च जोखिमका रहेका छन् । यो रोग विशेष गरी साउनदेखि कात्तिकसम्म बढी देखिन्छ । नेपालमा ८२ प्रतिशत बालबालिकालाई जापनिज इन्सेफ्लाइटिसविरुद्धको खोप लगाइएको छ । नेपालमा सन् १९९८ देखि वर्ष मुनिका बालबालिकालाई नियमित जापनिज इन्सेफ्लाइटिसविरुद्धको खोप लगाइँदै आइएको छ । नेपालमा सन् १९७८ मा पहिलो पटक रुपन्देहीमा जापनिज इन्सेफ्लाइटिस रोग देखिएको हो । जापानमा भने सन् १८६१ मा देखिएको थियो ।

खोप शाखा प्रमुख डा गौतमले जापनिज इन्सेफ्लाइटिसको सङ्क्रमण सन् १९९० देखि धेरै नै देखिने थालेको बताए । त्यसपछि सरकारले राष्ट्रिय खोपमा इन्सेफ्लाइटिसविरुद्धको खोप पाँच वर्ष मुनिका बालबालिकालाई प्रत्येक वर्ष नियमित दिँदै आएको हो ।

 

प्रकाशित मिति: २५ आश्विन २०८२, शनिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com