सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले जेन–जी आन्दोलनले उजागर गरेका सकारात्मक भावना र मागअनुसार काम गर्न प्रदेशका सचिवहरूलाई निर्देशन दिएका छन्।

शनिबार प्रमुख सचिवसहित सबै मन्त्रालयका सचिवहरूसँग भएको बैठकमा मुख्यमन्त्री कँडेलले जनताले अपेक्षा गरेको पारदर्शी, जवाफदेही र सहज सेवा प्रवाह सुनिश्चित गर्न स्पष्ट कार्ययोजना तयार गर्न आग्रह गरे।

advertisement

‘जनताले अब व्यवहारमै परिवर्तन चाहन्छन्,’ मुख्यमन्त्री कँडेलले भने, ‘कार्यालयका ढोका सबैका लागि खुला हुनुपर्छ, कागजमा मात्र होइन, कार्यशैलीमा पनि पारदर्शिता देखिनुपर्छ।’

उनले विगतका कमजोरीबाट सिक्दै नयाँ सोच र कार्यशैली अपनाएर प्रशासनलाई चुस्त–दुरुस्त बनाउन निर्देशन दिए।

मुख्यमन्त्री कँडेलले सरकारको प्रमुख प्राथमिकता खर्च कटौती, कार्यक्षमता वृद्धि र परिणाममुखी सेवा प्रवाह हुने स्पष्ट पारे। ‘संघीय सरकारसँग प्रतिस्पर्धा गर्न सक्ने गरी अनावश्यक योजना र फजुल खर्च हटाउने नीति ल्याउनुपर्छ,’ उनले भने, ‘आवश्यक नभएका खर्च घटाएर प्रभावकारी काममा स्रोत केन्द्रित गर्नुपर्छ।’

त्यससँगै उनले प्रत्येक मन्त्रालय र कार्यालयमा देखिने ढिलासुस्ती, अनावश्यक प्रक्रिया र अपारदर्शी अभ्यास अन्त्य गर्न निर्देशन दिए। सेवा प्रवाह सरल, छरितो र जनमुखी बनाउन प्रशासनिक सुधारमा जोड दिन उनले सचिवहरूलाई आह्वान गरे।

प्रकाशित मिति: २५ आश्विन २०८२, शनिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com