इलाम । सहरी विकास, ऊर्जा, जलस्रोत तथा सिँचाइ र भौतिक पूर्वाधार तथा यातायातमन्त्री कुलमान घिसिङले बाढीपहिरो प्रभावित क्षेत्रको पुनःस्थापनालाई तत्काल प्राथमिकतामा राखेर काम अघि बढाउन सरकार प्रतिबद्ध रहेको बताएका छन् ।

जिल्ला प्रशासन कार्यालय इलाममा आज जिल्ला विपद् व्यवस्थापन समितिद्वारा आयोजित अन्तरक्रियामा उनले इलामलाई ‘सङ्कटग्रस्त क्षेत्र’ घोषणा गरिएकाले पुनःस्थापनाको कामलाई पहिलो प्राथमिकतामा राखिने स्पष्ट पारे ।

advertisement

मन्त्री घिसिङले राहत तथा पुनर्निर्माण कार्यमा सङ्घ, प्रदेश र स्थानीय तहबीचको सहकार्य आत्यावश्यक रहेको बताए । ‘यो विपद् हाम्रो नियन्त्रणभन्दा बाहिरको कुरा हो, यसपटक इलामले नसोचेको क्षति बेहोर्नुपरेको छ । अब तीनै तहका सरकारबीच सहकार्य गरेर राहत र पुनःस्थापनामा जुट्न जरुरी छ । त्यो पहल सुरु भइसकेको छ’, उनले भने ।

मन्त्री घिसिङले आज नै इलामका बाढीपहिरो प्रभावित विभिन्न क्षेत्रको निरीक्षण गरेका थिए । उनले गत शनिबारको बाढीपहिराले क्षतिग्रस्त इलाम नगरपालिका–१० माईटापु, मेची राजमार्गको राजदुवाली सडक खण्ड र सदरमुकामदेखि मिलगोलाइसम्मको सडकखण्डको निरीक्षण गरे । निरीक्षणपछि मन्त्री घिसिङले क्षतिग्रस्त पक्की पुल, बेलिब्रिज र झोलुङ्गे पुलको पुनर्निर्माणलाई अगाडि बढाइने बताए ।

इलाममा हालैको बाढीपहिरोबाट सानाठूला गरी १९ वटा पक्की पुल, दुईवटा बेलिब्रिज र तीनवटा झोलुङ्गे पुलमा क्षति पुगेको छ । यहाँ बाढीपहिरोबाट ३९ जनाको ज्यान गएको छ भने २६ जना घाइते र एक जना बेपत्ता भएका छन् ।

प्रमुख जिल्ला अधिकारी सुनिता नेपालले ती घटनाबाट २७६ परिवार विस्थापित, १५१ घर पूर्ण र ३२७ घर आंशिक क्षतिग्रस्त भएका बताए ।

प्रकाशित मिति: २५ आश्विन २०८२, शनिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com