बागलुङ ।  बागलुङ नगरपालिका–१ का डम्मरबहादुर मल्ल बिहान झिसमिसेमै कालिका मन्दिर गेटमा पुग्छन् । जहाँ उनको सानो पसल र रोट (मन्दिरमा चढाउने प्रसाद) बनाउने अँगेनो छ । मन्दिरमा भक्तजन आउनुपूर्व नै मल्लले ‘रोट’ बनाउन सुरु गर्छन् । मन्दिरमा आउने भक्तजन मल्लको रोट पकाउने अँगेनो छेउमै आएर तात्तातो रोट लिएर चढाउन जान्छन् । मल्ल बिहानदेखि साँझसम्मै रोट बनाउनमा व्यस्त हुनुहुन्छ । अहिले उहाँको दैनिकी रोट बनाउने र बिक्री गर्नमै बित्ने गरेको छ ।

मन्दिरमा आउने दर्शनार्थीले प्रसादका रूपमा आयातित तयारी मिठाई तथा नरिवल चढाउने चलन बढेपछि मल्लले मन्दिर गेटमै पसल स्थापना गरेर रोट बनाउन थालेका हुन् । अहिले उनले उत्पादन गरेको रोट बागलुङमा ब्राण्ड बन्दै गएको छ । मन्दिरमा आउने हरेक दर्शनार्थीले मल्लले रोट बनाएको हेर्छन् । कतिले किन्छन् त कतिले रोट बनाएको देखेर मुख मिठाउँदै फर्किन्छन् । भगवान्लाई चढाउने रोट मल्ले बनाउन थालेपछि कालिका मन्दिरसँगै म्याग्दी, पर्वत र मुस्ताङ जिल्लाका अन्य मन्दिर पनि यहाँबाट किनेर लैजाने गरेका छन् ।

advertisement

डम्मरले आयातित प्रसाद रोक्न छ वर्ष अगाडिदेखि यहाँ रोट बनाउन थाल्नुभएको हो । बागलुङ कालिकामा दुई दशक अगाडिसम्म रोट चढाइन्थ्यो । लामो समय मिठाई, नरिवललगायत अन्य प्रसाद चढाउन थालिएको कालिकामा अहिले फेरि रोट चढाउन सुरु भएको छ । पहिले पूजाअर्चना गर्न आउने दर्शनार्थीले घरबाटै तयारी रोट लिएर कालिका मन्दिरलाई चढाउने गरेकामा अहिले मल्लको पसलबाट किन्न थालिएको छ । बागलुङमा रोट बनाउने मल्ल एक्लो व्यवसायी हुन् । भगवान्लाई स्थानीय उत्पादन नै चढाउनुपर्छ भन्ने उद्देश्यले रोट बनाउन थालेको मल्ल बताउछन् ।

पहिले हरेक नागरिकले मन्दिरमा पूजा गर्न आउँदा रोट ल्याउने गरेको स्मरण गर्दै त्यो परम्परालाई पुनः फर्काउनुपर्ने उनले बताए । रोटलाई कालिका मन्दिर चढाइने शुद्ध र चोखो प्रसादका रूपमा लिने हुँदा पछिल्लो समय धेरैले रोट चढाउन थालेको मल्लको भनाइ छ । दुईतीन वर्ष अगाडिसम्म बुढापाकाले मात्र रोट किनेर चढाउने गरेको भए पनि पछिल्लो समय युवायुवतीले पनि चढाउन थालेका उनले सुनाए ।

‘कालिकामा रोट चढाउने त पुरानो प्रचलन हो, मौलिकता हो, तर पछिल्लो समय धेरैले बाहिरबाट ल्याएको प्रसाद चढाउन थाले, त्यसले गर्दा रोटको महत्व घटेको थियो, अहिले फेरि धेरैमा रोट चढाउनुपर्छ भन्ने सोचको विकास भएको छ’, मल्लले भने, ‘यहाँ बनाउने रोट शुद्ध हुन्छ, केही मिसावट हुँदैन, भक्तजनलाई उहाँहरूकै आँखा अगाडि रोट बनाएर दिन्छौँ, अहिले त धेरैले रोट चढाउनुपर्छ भनेर आउनुहुन्छ, विस्तारै रोट चढाउने थिति बस्दैछ ।’

मल्ले रोट बनाउन थालेपछि सुरुमा बिक्री हुँदैनथ्यो । उनलाई स्थापित हुन निकै गाह्रोसमेत भएको थियो । तर अहिले मल्लको व्यवसाय फस्टाउन थालेको छ । अहिले पनि मन्दिरमा हजारौँ भक्तजन आए पनि सीमितले मात्र रोट चढाउने गरेका छन् । तर यसबाट मल्ल भने सन्तुष्ट रहेको बताउछन्। मल्लले दसैँ अवधिमा मात्र रु दुई लाखको रोट बिक्री गरे । हरेक दिन ५० देखि १०० रोट बिक्री हुने उनले सुनाए ।

चामलको पीठोमा चिनी, नरिवल, बदाम, काजु मिसाएर घ्यूमा रोट पकाउने गरिन्छ । प्रतिगोटा रोटलाई चार सयका दरले बिक्री गर्ने गरेको मल्लले सुनाए । वार्षिक रु सात लाखबराबरको रोट बिक्री हुने उनको भनाइ छ । रोट बिक्री गरेर भगवान्को सेवा गरेको भन्दै यहीबाट आफ्नो परिवार चलाएको मल्लले बताए ।

पछिल्लो समय कालिका मन्दिरमा बर्सेनि ५० लाखभन्दा बढीको नरिवल बिक्री हुने गरेको छ । कालिका दर्शन गर्न आउने जोकोहीको हातमा पनि नरिवल हुन्छ । तर, पछिल्लो पुस्ताले बिर्सिएको रोट चढाउने परम्परा अहिले पुनः प्रचलनमा आउन थालेको छ । मन्दिर आउने बुढापाकाले रोट खोजेरै चढाउन लैजाने गरेका छन् ।

  • रासस

प्रकाशित मिति: २६ आश्विन २०८२, आइतबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com