काठमाडौं । मेडिकल व्यवसायी तथा अभियन्ता दुर्गा प्रसाईंले नेपालमा २००४ सालदेखि नै देश विखण्डन गर्ने गम्भीर र योजनाबद्ध षड्यन्त्र सुरु भएको दाबी गरेका छन्।
सोमबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पत्रकारहरूसँग कुरा गर्दै उनले उक्त षड्यन्त्रको कार्यान्वयनमा राजनीतिक दलका नेतादेखि बौद्धिक व्यक्तित्वसम्म प्रयोग गरिएको आरोप लगाए।
प्रसाईंका अनुसार देश विभाजनको विदेशी योजना अहिले अन्तिम चरणमा पुगेको छ। उनले भने, ‘देश टुक्रिँदैछ, विखण्डन हुँदैछ। मधेसतिरबाट सिके राउत र पूर्वतिरबाट मंगोल नेसनल अर्गनाइजेसनले टुक्र्याउने प्रयास गरिरहेका छन्।’
विगत ७६ वर्षको नेपालको राजनीतिक यात्रालाई एउटै निरन्तर षड्यन्त्रको रूपमा व्याख्या गर्दै प्रसाईंले २००४ सालमा नेपाली कांग्रेस, २००६ सालमा कम्युनिष्ट पार्टीको स्थापना, २०२८ सालमा राजा महेन्द्रको हत्या, २०३६ को जनमत संग्रह, २०४६ को जनआन्दोलन, २०५२ को माओवादी जनयुद्ध, २०५८ को दरबार हत्याकाण्ड र २०६२/६३ को जनआन्दोलन सबै विदेशी शक्तिको योजनाअन्तर्गत भएको दाबी गरे।
उनले भने, ‘यो ७५–७६ वर्षको खेल पश्चिमी शक्तिहरूको योजनाअनुसार नै चल्दै आएको हो। २०७२ सालमा संविधानमार्फत हिन्दू राष्ट्र र राजसंस्था अन्त्य गर्नु त्यसै योजनाको अन्तिम उद्देश्य थियो।’
प्रसाईंले देशका प्रतिष्ठित बौद्धिक तथा प्रख्यात व्यक्तित्वहरू समेत विदेशी एनजिओ र आईएनजिओको प्रभावमा परेको आरोप लगाए। उनले आँखा चिकित्सक डा. सन्दुक रुइतलाई उदाहरण दिँदै भने, ‘उनीलाई भगवानजस्तो बनाइएको छ, तर उनी पनि फाउन्डेसनको संरचनाभित्र काम गरिरहेका छन्।’
उनका अनुसार एनजिओ–आईएनजिओहरूले डलरको प्रलोभन देखाएर नेपाली बौद्धिक वर्ग र नागरिक समाजलाई राष्ट्रिय हितविपरीतका कार्यमा संलग्न गराएका छन्।
राजा महेन्द्रले २०१७ सालमा गरेको ‘कु’ पनि विदेशी योजनाविरुद्धको कदम भएको उनको दाबी छ। उनले भने, ‘त्यतिबेला राजा महेन्द्रले देश विभाजनतिर जाँदैछ भनेर बुझेरै बीपीलाई थुनेर शासन सम्हालेका थिए, तर राजा वीरेन्द्रमा त्यस्तो साहस देखिएन।’
यी घटनाक्रमको समग्र अध्ययनपछि आफू राष्ट्रियताको पक्षमा दृढ रूपमा उभिएको बताउँदै प्रसाईंले भने, ‘अब पुराना राजनीतिक दलहरूको औचित्य सकिएको छ, नयाँ राष्ट्रिय मार्ग आवश्यक छ।’
प्रकाशित मिति: २७ आश्विन २०८२, सोमबार












प्रतिक्रिया