एजेन्सी । गाजापट्टी अहिले कुनै साधारण भूगोल होइन — यो बारुद, ध्वंस र मानवीय करुणाको प्रतीक बनेको छ । इजरायलले पछिल्ला दुई वर्षमा यहाँ झन्डै दुई लाख टन बराबरको विस्फोटक पदार्थ प्रयोग गरेको छ, जुन शक्तिका हिसाबले १३ वटा आणविक बम बराबर पर्छ । ती निरन्तर आक्रमणहरूले गाजालाई धुलो र रगतको उपत्यकामा रूपान्तरण गरेका छन्, जहाँ अहिलेसम्म १ लाखभन्दा बढी मानिसले ज्यान गुमाइसकेका छन् ।

संयुक्त राष्ट्र विकास कार्यक्रम (यूएनडीपी)ले गत अक्टोबरमा सार्वजनिक गरेको ‘गाजाको पुनर्निर्माण सूचकांक’ प्रतिवेदन अनुसार, दुई वर्षमा गाजाका १ लाख ५ हजार ८०० भन्दा बढी भवनहरू पूर्ण रूपमा ध्वस्त भएका छन् । यहाँका प्रत्येक १० घरमध्ये ८ वटा भग्नावशेषमा परिणत भएका छन् ।

advertisement

गाजा अहिले बासयोग्य ठाउँ रहसकेको छैन । ९० प्रतिशत बासिन्दाको घर भत्किएको वा बस्न लायक छैन । ९५ प्रतिशतभन्दा बढी बहुमन्जिल्ला भवनहरू माटोमा मिसिएका छन् । यूएनडीपी र विश्व बैंकको संयुक्त सर्वेक्षणले गाजामा करिब ६ करोड टन भग्नावशेष रहेको जनाएको छ — यो सिरीयाली युद्धको क्रममा अलेप्पोमा भएको कुल विनाशभन्दा तीन गुणा बढी हो ।

यी भग्नावशेष हटाउन मात्र करिब २४ अर्ब अमेरिकी डलर खर्च लाग्ने अनुमान गरिएको छ, जुन प्यालेस्टिनी वार्षिक जीडीपीको झण्डै चार गुणा हो । उपलब्ध स्रोतका आधारमा कुनै पनि पुनर्निर्माण कार्य सुरु हुनुअघि भग्नावशेष हटाउन मात्रै १२ देखि १५ वर्ष लाग्ने इन्जिनियरिङ काउन्सिलको आकलन छ । यी तथ्यहरूले गाजाको पुनर्निर्माण असम्भवजस्तै कठिन कार्य हुने संकेत गर्छन् ।

मानवीय क्षतिः झन्डै डेढ लाख मृत

विनाशको सबैभन्दा पीडादायी पक्ष मानवीय क्षति हो । संयुक्त राष्ट्रका मानवीय राहत निकाय, विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) र यूएनआरडब्ल्यूएका नवीनतम प्रतिवेदनअनुसार २०२५ अक्टोबरसम्म गाजामा झन्डै १ लाख ५२ हजार मानिसको ज्यान गएको छ । तीमध्ये करिब १ लाख ८ हजारको मृत्यु पुष्टि भइसकेको छ भने बाँकी व्यक्ति बेपत्ता वा भग्नावशेषमा पुरिएका छन् ।

घाइतेहरूको संख्या ३ लाख ७२ हजार नाघेको छ, जसमा करिब ६० प्रतिशत महिला र बालबालिका छन् । मृत्यु हुनेमध्ये ४२३ स्वास्थ्यकर्मी, १७९ पत्रकार र २४७ संयुक्त राष्ट्रका राहतकर्मी पनि रहेका छन् — जसले आफ्नो कर्तव्य निर्वाह गर्दै गर्दा प्राण गुमाए ।

युद्धविराम र बन्धक रिहाइपछि उत्सव

गाजामा युद्धविराम सम्झौताअन्तर्गत हमासले २० जना इजरायली बन्धकहरू रेडक्रसलाई हस्तान्तरण गरेपछि इजरायलभर उत्सव मनाइयो । दुई वर्षदेखि चलिरहेको र पश्चिम एसिया तथा विश्वभर असर पारिरहेको विनाशकारी युद्धको अन्त्य भएको संकेतका रूपमा यसलाई हेरिएको छ ।

तर यो युद्धविराम शान्तिको प्रारम्भिक चरण मात्र हो । आगामी चरणबारे इजरायल र हमासबीच अझै ठूला मतभेद छन्, जसले स्थायी शान्तिको सम्भावना अनिश्चित बनाएको छ ।

हमासका अनुसार, इजरायलले झन्डै १ हजार ९०० प्यालेस्टिनी कैदीहरूलाई रिहा गरेपछि २० जना बन्धकहरू फर्काइएको हो । इजरायल अझै पनि वेस्ट बैंकमा बस्ती (कोलोनी) विस्तार गर्न चाहन्छ, जसलाई रोक्न हमासले चेतावनी दिएको छ । त्यसैले, बाँकी प्यालेस्टिनी कैदीहरूको रिहाइ र भविष्यको स्थायित्व अब यी द्वन्द्वशील मागहरू मिलाउने क्षमतामा निर्भर रहनेछ ।

प्रकाशित मिति: २८ आश्विन २०८२, मंगलबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com