काठमाडौं । राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स)ले आगामी अक्टोबर १९ (असोज ३२) का लागि तय गरिएको काठमाडौं–ग्वाञ्जाओ उडान रद्द गरेको जनाएको छ। निगमका प्रवक्ता सुवास डाँगीले सोमबार जारी गरेको विज्ञप्तिमा उक्त उडान आन्तरिक कारणले स्थगित गरिएको उल्लेख छ।
प्रवक्ता डाँगीका अनुसार रद्द गरिएको उडानका सबै यात्रुहरूलाई वैकल्पिक उडानमा व्यवस्थापन गर्ने तयारी भइरहेको छ। उनले यात्रुहरूलाई अनावश्यक भ्रममा नपर्न आग्रह गर्दै गन्तव्यसम्बन्धी अन्य उडानहरू नियमित रूपमा सञ्चालन भइरहेका पनि बताए।
निगमका अनुसार काठमाडौं–ग्वाञ्जाओ–काठमाडौं सेक्टरका अन्य उडानहरू भने निर्धारित तालिकाअनुसार जारी छन्। १६ अक्टोबरको काठमाडौं–ग्वाञ्जाओ उडानमा ६८ यात्रु र १७ अक्टोबरको ग्वाञ्जाओ–काठमाडौं उडानमा ४१ यात्रुको टिकट बिक्री भइसकेको निगमले जनाएको छ। त्यस्तै, २३ अक्टोबर र २४ अक्टोबरका उडानका लागि क्रमशः ९३ र २० टिकट बिक्री भएका छन्।
निगमले यात्रुको संख्या कम भएर उडान रद्द गरिएको भन्ने समाचारहरू असत्य रहेको स्पष्ट पारेको छ। निगमका अनुसार ग्वाञ्जाओ गन्तव्य नेपाल एयरलाइन्सको नयाँ गन्तव्य भएकाले त्यसको प्रचार–प्रसार र बजार विस्तारको प्रक्रिया जारी छ।
विज्ञप्तिमा भनिएको छ, ‘ग्वाञ्जाओ गन्तव्यप्रति यात्रुहरूको चासो बढ्दो क्रममा छ। नयाँ सेक्टरको प्रवर्द्धनका लागि सञ्चार माध्यम र सरोकारवाला सबै पक्षबाट सहयोगको अपेक्षा गर्दछौं।’
प्रकाशित मिति: २८ आश्विन २०८२, मंगलबार












प्रतिक्रिया