काठमाडौं । हमासले बन्धक बनाएर लगेका नेपाली युवा विपिन जोशीको झण्डै दुई वर्षअघि नै हत्या भएको तथ्य बाहिर आएको छ।

इजरायली सैनिक अस्पतालमा गरिएको डीएनए परीक्षण रिपोर्ट अनुसार, विपिनको मृत्यु सन् २०२३ को अन्त्यतिर नै भएको पुष्टि भएको हो। यो जानकारी इजरायलस्थित नेपाली दूतावाससँग नजिकको स्रोतले दिएको हो।

advertisement

स्रोतका अनुसार, हमासले हस्तान्तरण गरेको शव विपिनकै रहेको डीएनए परीक्षणले पुष्टि गरेको छ। ‘उनको मृत्यु प्राकृतिक होइन, हत्या भएको निष्कर्ष रिपोर्टमा स्पष्ट रूपमा उल्लेख छ,’ स्रोतले भन्यो।

विपिनको शव अन्तर्राष्ट्रिय रेडक्रस सोसाइटी (ICRC) मार्फत सैनिक अस्पतालमा पु-याई डीएनए परीक्षण गरिएको थियो।

तर, यो विषयमा नेपाली दूतावासले अहिलेसम्म औपचारिक जानकारी सार्वजनिक गरेको छैन। परराष्ट्र मन्त्रालयका अधिकारीहरूले समेत रिपोर्टबारे जानकारी नआएको बताएका छन्।

स्रोतका अनुसार, परराष्ट्र मन्त्रालयको जिम्मेवारीसमेत सम्हालेकी प्रधानमन्त्री सुशीला कार्कीलाई औपचारिक प्रतिवेदन पुगेपछि विपिनको डीएनए परीक्षण परिणाम सार्वजनिक गर्ने तयारी भइरहेको छ।

कञ्चनपुरका विपिन जोशी अध्ययनका क्रममा इजरायल पुगेका थिए। सन् २०२३ अक्टोबर ७ मा हमासले किबुत्ज क्षेत्रमा गरेको भीषण आक्रमणका क्रममा उनी बन्धक बनेका थिए। सो आक्रमणमा १० जना नेपाली विद्यार्थीको मृत्यु भएको थियो, भने विपिनलाई हमास लडाकूहरूले आफूसँगै लगेका थिए।

त्यसपछि उनको अवस्था अज्ञात रहँदै आएको थियो। युद्धविरामपछि मंगलबार बिहान मात्रै इजरायली सेनाले विपिनको मृत्यु भएको औपचारिक पुष्टि गरेको हो। हमासले बन्दीहरू हस्तान्तरण गर्ने क्रममा उनको शव मंगलबार इजरायली पक्षलाई बुझाएको थियो।

प्रकाशित मिति: २८ आश्विन २०८२, मंगलबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com