जेरुसलेम । इजरायली सेनाले मंगलबार फिर्ता गरिएका चार बन्धकमध्ये एक नेपाली विद्यार्थी विपिन जोशी र इजरायली नागरिक गाइ इलुजको शव पहिचान भएको पुष्टि गरेको छ। बाँकी दुई जनाको नाम भने परिवारको अनुरोधमा गोप्य राखिएको छ।

इजरायली सेनाका अनुसार २६ वर्षीय गाइ इलुज सन् २०२३ अक्टोबर ७ मा हमासद्वारा दक्षिण इजरायलमा आयोजित नोभा संगीत महोत्सवमा आक्रमण भएको बेला अपहरणमा परेका थिए। उनी जिपमा भाग्ने क्रममा घाइते भएका र पछि रूखमा लुकेर आफ्ना आमाबुबासँग अन्तिम पटक सम्पर्क गरेका थिए। त्यसपछि उनलाई हमासले नियन्त्रणमा लिएर गाजामा लगिएको थियो। सेनाले जनाएअनुसार कैदका क्रममा उपचार नपाउँदा उनको मृत्यु भएको हो। इलुज इजरायलका प्रख्यात संगीतकारहरूका लागि ध्वनि प्राविधिकको रूपमा कार्यरत थिए।

advertisement

२२ वर्षीय नेपाली विद्यार्थी विपिन जोशी भने हमासको आक्रमण हुनु तीन साताअघि मात्र कृषि तालिमका लागि इजरायल पुगेका थिए। उनी किबुट्ज अलुमिममा रहेका बेला अपहरणमा परेका थिए। आक्रमण अघि उनले थाइल्यान्डका कामदारहरूसँग आश्रय लिएको तस्बिर पनि सार्वजनिक भएको थियो। इजरायली सेनाले युद्धको सुरुवाती चरणमै उनको हत्या भएको अनुमान गरेको छ।

जोशीका सहपाठी हिमाञ्चल कट्टेलले एएफपीसँग भनेका छन्, “हमासका लडाकूहरूले आश्रयमा ग्रेनेड फ्याँकेका थिए, विपिनले त्यो समातेर बाहिर फ्याँकिदिनुभयो। उनको साहसका कारण मेरो ज्यान जोगियो।’

मुख्य इजरायली बन्धक सहयोग समूह होस्टेजेस एन्ड मिसिङ फ्यामिलिज फोरमले विज्ञप्तिमा भनिएको छ, ‘गाइ र विपिनको शव फिर्ता हुनुले दुई वर्षभन्दा बढी पीडामा रहेका परिवारहरूलाई केही सान्त्वना दिएको छ, तर जबसम्म बाँकी २४ जना बन्धक घर फर्किँदैनन्, हाम्रो संघर्ष रोकिँदैन।’

हमासले सोमबार अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको मध्यस्थतामा भएको युद्धविराम सम्झौताअन्तर्गत २० जना जीवित बन्धकहरू मुक्त गर्दै चार जनाको शव फिर्ता गरेको थियो। हाल पनि २४ जना बन्धकका शव हमासको नियन्त्रणमा रहेको इजरायली सेनाको दाबी छ, र ती शव पनि युद्धविराम सम्झौताअनुसार निकट भविष्यमा फिर्ता गरिने अपेक्षा गरिएको छ।

प्रकाशित मिति: २८ आश्विन २०८२, मंगलबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com