काठमाडौं । हमासको आक्रमणमा मारिएका नेपाली विद्यार्थी विपिन जोशीको शव नेपाल ल्याउने प्रक्रिया औपचारिक रूपमा सुरु गरिएको छ ।
परराष्ट्र मन्त्रालयका सचिव अमृतबहादुर राई र इजरायलका परराष्ट्र मन्त्रालयका महानिर्देशक बार तालबीच मंगलबार टेलिफोन वार्ता भएको मन्त्रालयले जनाएको छ । वार्ताका क्रममा महानिर्देशक बारले जोशीको मृत्यु पुष्टि भइसकेको र उनको शव नेपाल पठाउने प्रक्रिया अघि बढाइएको जानकारी दिएका छन् ।
मन्त्रालयद्वारा जारी विज्ञप्तिअनुसार, हमासले असोज २७ गते अन्तर्राष्ट्रिय रेडक्रस सोसाइटीमार्फत विपिनको शव इजरायली पक्षलाई हस्तान्तरण गरेको थियो । त्यसपछि तेल अविवस्थित फरेन्सिक केन्द्रमा गरिएको डीएनए परीक्षणबाट शव जोशीकै भएको पुष्टि भएको इजरायलस्थित नेपाली दूतावासले जनाएको छ ।
विगत दुई वर्षदेखि नेपाल सरकारले विपिनको सकुशल रिहाइका लागि कूटनीतिक पहल निरन्तर गर्दै आएको थियो । तर, इजरायल र हमासबीचको युद्धविरामपछि सन् २०२५ अक्टोबर १३ मा भएको भर्चुअल बैठकमा इजरायली अधिकारीहरूले जोशी जीवित बन्दीहरूको सूचीमा नरहेको र उनको अवस्थाबारे निश्चित जानकारी नभएको बताएका थिए ।
मन्त्रालयले विपिनको शव नेपाल ल्याइएपछि उनको मृत्युका कारण र परिस्थितिबारे सत्यतथ्य पत्ता लगाउने, न्याय सुनिश्चित गर्ने र परिवारलाई पाउनुपर्ने सामाजिक सुरक्षा, क्षतिपूर्ति, बीमा लगायतका सुविधा उपलब्ध गराउन आवश्यक पहल जारी राखिने जनाएको छ ।
प्रकाशित मिति: २८ आश्विन २०८२, मंगलबार












प्रतिक्रिया