काठमाडौं । इजरायल सरकारले हमास लडाकू समूहद्वारा हत्या गरिएका नेपाली नागरिक विपिन जोशीको परिवारलाई आफ्ना नागरिकका परिवारसरह अधिकार र सहयोग प्रदान गर्ने घोषणा गरेको छ। हमासले बन्धक बनाएर हत्या गरेको पुष्टि भएको दुई दिनपछि इजरायलले यो जानकारी दिएको हो।

इजरायलको परराष्ट्र मन्त्रालयका निर्देशक जनरल एडेन बार–टालले नेपाली परराष्ट्र सचिव अमृतबहादुर राईसँग टेलिफोन वार्ता गर्दै विपिनको परिवारलाई इजरायली नागरिकका परिवारले पाउने समान सुविधा र हेरचाह उपलब्ध गराइने बताए।

advertisement

उनले तेलअविभ र काठमाडौं दुबै स्थानमा विपिनको सम्झनामा श्रद्धाञ्जली कार्यक्रम आयोजना गरिने जानकारी पनि दिए। बार–टालले विपिनको हत्या “अत्यन्तै क्रूर र अमानवीय” भएको भन्दै नेपाली जनताप्रति गहिरो संवेदना प्रकट गरे। साथै, विपिनको शव काठमाडौं पठाउने तयारी भइरहेको उनले बताए।

परराष्ट्र सचिव राईले कठिन घडीमा इजरायल सरकारले देखाएको सद्भाव र सहयोगका लागि नेपाल सरकारको तर्फबाट आभार प्रकट गरे।

सन् २०२३ अक्टोबर ७ मा इजरायलको दक्षिणी क्षेत्र किबुज एलुमिममा हमासको आक्रमणका क्रममा अपहरणमा परेका जोशीको यही सातामात्र मृत्यु पुष्टि भएको थियो। अपहरण भएको ७३८ दिनपछि हमासले उनको शव इजरायली सेनालाई बुझाएको र त्यसपछि नेपाल पठाउने प्रक्रिया सुरु गरिएको परराष्ट्र मन्त्रालयले जनाएको छ।

प्रकाशित मिति: २९ आश्विन २०८२, बुधबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com