काठमाडौं । नेपाल तेस्रो पटक आईसीसी ट्वान्टी–२० विश्वकपमा छनोट भएको छ । बुधबार एसिया–इस्ट एसिया प्यासिफिक छनोटको सुपर सिक्समा ओमानविरुद्ध खेल्नु केही घण्टाअगाडि नेपालले ट्वान्टी–२० विश्वकपको टिकट काटेको हो ।
ओमानको मस्कटमा भइरहेको प्रतियोगिताको दुवै खेलमा आफूअनुकूल नतिजा आएपछि नेपाल र ओमान ट्वान्टी–२० विश्वकपमा छनोट भएका हुन् ।
बेलुकी ओमानसँग भएको खेलमा ३८ रनको फराकिलो जित हासिल गर्दै ८ अंकसहित अपराजित नेपाल छनोटको शीर्षस्थानमा पनि पुगेको छ । च्याम्पियनसिप उपाधिको नजिक पुगेको नेपालले बाँकी एक खेल शुक्रबार सामाओसँग खेल्दै छ ।
बुधबार दिनको खेलमा कतारले जापानलाई ३ विकेट र यूएईले सामाओलाई ७७ रनले पराजित गरेपछि नेपाल र ओमान लगातार दोस्रो पटक विश्वकपमा पुग्न सफल भएका हुन् । सन् २०२३ मा काठमाडौंमा भएको एसिया छनोटबाट शीर्ष दुई स्थानमा रहँदै नेपाल र ओमान नै विश्वकपमा पुगेका थिए ।
प्रकाशित मिति: ३० आश्विन २०८२, बिहिबार












प्रतिक्रिया