चितवन । नेकपा (माओवादी केन्द्र) महाधिवेशन आयोजक समितिका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जेन–जी आन्दोलनका क्रममा भएको ठूलो जनधन क्षतिप्रति तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले आजसम्म पश्चाताप नगरेको आरोप लगाएका छन् ।

बिहीबार चितवनमा आयोजित कार्यकर्ता भेटघाट कार्यक्रममा बोल्दै उनले भदौ २३ गतेको आन्दोलनका समयमा देखिएको गम्भीर सुरक्षा लापरवाहीलाई त्यसबेलाको सरकारले अत्यन्त गैरजिम्मेवार ढंगले सामना गरेको बताए ।

advertisement

उनका अनुसार, ‘युवाहरूको आन्दोलन पूर्ण रूपमा शान्तिपूर्ण थियो । तर, सरकारले सुरक्षा संयन्त्र तयार नगरी संवेदनशीलता नदेखाएकै कारण अवस्था हिंसात्मक बन्यो । कलेज ड्रेसमा रहेका युवामाथि टाउको र छाती लक्षित गरी गोली चलाउनु अन्तर्राष्ट्रिय रूपमा पनि लज्जास्पद घटना हो,’ उनले टिप्पणी गरे ।

प्रचण्डले थपे, ‘त्यो समय ओलीको कारणले यति ठूलो जनधनको क्षति भयो, तर आजसम्म उनले त्यसबारे कुनै पश्चाताप देखाएका छैनन् ।’

देशको वर्तमान राजनीतिक अवस्थाले अब निर्वाचन नै प्रमुख विकल्प भएको उल्लेख गर्दै उनले सबै राजनीतिक दलहरूलाई त्यस दिशामा अघि बढ्न आह्वान गरे ।

उनले भने, ‘राष्ट्रपति, प्रधानमन्त्री, प्रमुख दलहरू र अन्तर्राष्ट्रिय समुदाय सबैले अबको प्राथमिकता निर्वाचन हो भन्ने निष्कर्षमा पुगेका छन् । जनताले पनि परिवर्तनको बाटो चुनावमार्फत नै रोज्नेछन् ।’प्रचण्डका अनुसार, संसद् पुनःस्थापनाको एजेन्डा अब गौण बनिसकेको छ । उनले एमाले बाहेकका सबै दलहरू निर्वाचनमा जान सहमत भइसकेको र एमाले पनि ढिलोचाँडो सोही बाटो रोज्ने विश्वास व्यक्त गरे ।

पार्टी एकताको सन्दर्भमा उनले लामो समयदेखि चलिरहेको वाम एकता प्रक्रिया अब निष्कर्षतिर पुगेको बताए । ‘समाजवादी मोर्चाभित्रको एकता पहिलो चरणमा हुनेछ, जसको घोषणा केही दिनभित्र हुनेछ,’ उनले स्पष्ट पारे ।

प्रचण्डले दीर्घकालीन रूपमा सबै वाम शक्तिलाई एउटै राजनीतिक ढाँचामा एकताबद्ध बनाउने लक्ष्य रहेको बताए । ‘हाम्रो अन्तिम लक्ष्य एमालेसम्म पुगेर समग्र वामपन्थी शक्तिलाई एउटै मोर्चामा ल्याउने हो,’ उनले जोड दिए ।

प्रकाशित मिति: ३० आश्विन २०८२, बिहिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com