काठमाडौं । नेकपा (एमाले) का केन्द्रीय सदस्य महेश बर्तौलाले वर्तमान सरकारले निर्वाचनको तयारी गर्नुको सट्टा भय र आतंक सिर्जना गरेर सत्तामा टिकी रहन खोजेको आरोप लगाएका छन् ।
एक कार्यक्रमका क्रममा बोल्दै उनले देश अहिले अलोकतान्त्रिक र असंवैधानिक दिशातर्फ अघि बढिरहेको दाबी गरे । ‘देशलाई पुनः लोकतान्त्रिक बाटोमा ल्याउनु आजको मुख्य कार्यसूची हो, जुन चुनाव वा संसद् पुनःस्थापनामध्ये कुनै एक बाटोबाट सम्भव हुन्छ’ उनले भने ।
बर्तौलाका अनुसार, ‘सरकार निर्वाचन गराउने दायित्वमा रहेर पनि त्यसको तयारी गर्नुभन्दा उल्टै डर, त्रास र असुरक्षाको वातावरण सृजना गर्दै सत्तामा बसिरहन चाहन्छ ।’
उनले सरकार राजनीतिक दलहरूसँग संवाद र सहकार्यको बाटोमा नचली निषेध र धम्कीको राजनीति गरिरहेको आरोप पनि लगाए । ‘संवादको सट्टा सरकारले विपक्षी दलका नेताहरूलाई धम्क्याउने र नियन्त्रणमा लिने प्रयास गरिरहेको छ । यस्तो अवस्थामा चुनाव हुने वातावरण नै नबनाउने योजनामा सरकार लागेको देखिन्छ,’ उनले टिप्पणी गरे ।
बर्तौलाले चेतावनी दिँदै भने, ‘यदि निर्वाचन भएन र देशमा जनप्रतिनिधिमूलक सर्वोच्च संस्था पुनःस्थापना भएन भने मुलुक गम्भीर संकटतर्फ धकेलिने निश्चित छ । त्यसैले संसद् पुनःस्थापना अहिलेको मूल मुद्दा हो ।’
उनले संसद् पुनःस्थापना भएपछिको चरणमा सर्वदलीय तथा सर्वपक्षीय राष्ट्रिय सरकार गठन गर्नुपर्ने आवश्यकता औंल्याए ।
युवापुस्ता, विशेषगरी ‘जेन–जी’ पुस्ताको भावना, आकांक्षा र चाहनालाई आत्मसात् गर्दै मुलुकमा राजनीतिक स्थिरता र समाधानको बाटो खोल्नुपर्ने पनि उनको भनाइ थियो ।
‘संविधान र वर्तमान व्यवस्था स्वीकार गर्ने सबै राजनीतिक शक्ति एउटै ठाउँमा उभिने वातावरण बनाउन सके देशलाई स्थायित्व र प्रगतितर्फ अघि बढाउन सकिन्छ,’ बर्तौलाले जोड दिए ।
प्रकाशित मिति: ३० आश्विन २०८२, बिहिबार












प्रतिक्रिया