काठमाडौं । नेकपा (एमाले)को जारी केन्द्रीय कमिटी बैठकमा अध्यक्ष केपी शर्मा ओलीले जेनजी आन्दोलनबारे दिएको अभिव्यक्तिप्रति पार्टीभित्रै असन्तुष्टि देखिएको छ । बिहीबारको बैठकमा केन्द्रीय सदस्य युवराज बास्कोटाले ओलीको भनाइप्रति खुला आपत्ति जनाएका हुन् ।
बास्कोटाले जेनजी आन्दोलनलाई गालीगलौज गर्नु अनुचित रहेको भन्दै त्यसले नयाँ पुस्तासँगको दूरी बढाउने चेतावनी दिए । उनका अनुसार जेनजी आन्दोलन कुनै राजनीतिक दल वा संगठित संस्थाको उत्पादन नभई समसामयिक विषयवस्तुका कारण स्वतःस्फूर्त रूपमा उठेको थियो ।
‘यो एक पुस्ताको चाहना हो,’ उनले भने, ‘हो, त्यसमा हिंसा, तोडफोड र आगजनी पनि भयो, जसको पीडित म स्वयं हुँ । तर त्यसका बाबजुद पनि पुस्तालाई गाली होइन, उनीहरूले उठाएका विषय सम्बोधन गर्नुपर्छ । यो हाम्रो निर्णायक भोट बैंक हो, यसलाई भड्काउनु हुँदैन, न त भड्किन दिनु पर्छ ।’
बास्कोटाले सुशासनको कमी, बढ्दो भ्रष्टाचार र अभिव्यक्ति स्वतन्त्रतामाथिको नियन्त्रणका कारण आन्दोलन जन्मिएको बताउँदै एमालेले त्यसको आत्ममूल्यांकन गर्नुपर्ने सुझाव दिए ।
उनले पार्टीभित्र एकता र सहमतिको आवश्यकता औँल्याउँदै पूर्वउपाध्यक्ष विद्यादेवी भण्डारीको पार्टी सदस्यता पुनः कायम गर्नुपर्ने प्रस्ताव पनि राखे । ‘पार्टीमा खँदिलो एकता चाहिन्छ भने विद्यादेवी भण्डारीलाई सम्मानपूर्वक पुनः पार्टी कार्यमा फर्काउने पहल हुनुपर्छ,’ उनले भने ।
बास्कोटाले प्रस्तावित मितिमा हुने ११औं महाधिवेशनलाई आवश्यक तयारीका लागि केही समय पछाडि सार्नुपर्ने सुझाव पनि दिएका छन् । “नेतृत्वको कौशलता भनेको उत्तराधिकारी निर्माण गर्नु हो,’ उनले जोड दिए, ‘महाधिवेशनमा अध्यक्ष अभिभावकको भूमिकामा रहँदै स्वीकार्य नेतृत्व अघि सारिनु वाञ्छनीय हुन्छ।’
उनले माओवादी पार्टीको संगठनात्मक संरचना र एकता प्रक्रियाको उदाहरण दिँदै एमालेले पनि त्यस्तो सन्देश जनतासामु पु¥याउन नसकेको टिप्पणी गरे । ‘कम्युनिस्ट आन्दोलनले त्याग, बलिदान र नैतिक धरातल गुमाउँदै गएको छ,’ बास्कोटाले भने, ‘त्यसलाई पुनःस्थापना गर्ने समय यही हो ।’
प्रकाशित मिति: ३० आश्विन २०८२, बिहिबार












प्रतिक्रिया