भक्तपुर ।  गृहमन्त्री ओमप्रकाश अर्यालले वर्तमान सरकार निष्पक्ष निर्वाचन गर्नका लागि बनेको बताएका छन् । आज जिल्ला प्रशासन कार्यालय भक्तपुरको निरीक्षण गर्दै उनले सरकारले फागुन २१ मा  निष्पक्ष रूपमा निर्वाचन सम्पन्न गर्ने बताए ।
गृहमन्त्री अर्यालले निर्वाचनको वातावरण बनाउन सरोकार भएकाहरूलाई संवादमा आउन आग्रह गरे । उनले भने, ‘निर्धारित मितिमै निर्वाचन गर्न दलहरूले संवादमार्फत साथ र सहयोग गर्न आवश्यक छ । त्यसका लागि सरकारले सहजीकरण गरिरहेको छ ।  सरकार निष्पक्ष निर्वाचन गर्नका लागि बनेको हो, निर्वाचनमार्फत जो कोही पनि आउन सक्छन्, तर त्यसका लागि सबैबीच समन्वय भएर अगाडि बढ्न जरुरी छ ।’
निर्धारित मितिमा निर्वाचन गर्न नदिन केही तत्व लागिपरेको भन्दै गृहमन्त्री अर्यालले त्यस्ता तत्वलाई सम्झाइबुझाइ गर्नु आवश्यक रहेको बताए । उनले केही राजनीतिकर्मीले सुरक्षाकर्मीको मनोबल गिराउने काम गरको भन्दै मनोबल बढाउने काममा सरकारले काम गरिरहेको बताए ।
शान्ति, सद्भाव र सिङ्गो देशको राजनीति भत्काउन अपदस्त भएकाहरू नै लागिपरेको टिप्पणी गर्दै गृहमन्त्री अर्यालले भने, ‘भक्तपुर शान्तपूर्ण जिल्ला हो, तर अपदस्त भएकाहरूकै कारण देशमा विद्रोह भएकाले तिनीहरूलाई यो ठाउँबाट नकराउन र देशको राजनीति धुल्मिल्याउने खालका गतिविधि नगर्न सन्देश दिन चाहन्छौँ ।’
उनले आन्दोलनका क्रममा सवारीसाधन जलेको र हतियार लुटिएकाले सरकारले प्रहरीलाई आवश्यक स्रोतसाधनको व्यवस्था गर्न लागेको र जनतालाई शान्तिसुरक्षाको प्रत्याभूति हुनेगरी काम गर्न निर्देशन दिए ।
गृहमन्त्री अर्यालले भदौ २४ गते आन्दोलनका कारण जिल्ला प्रशासन कार्यालयको नागरिकता फाँट र मुद्दा फाँटमा आगलागी भएको क्षेत्रको अवलोकनसमेत गरे ।
प्रमुख जिल्ला अधिकारी नमराज घिमिरेले आन्दोलनका क्रममा भएको क्षति र त्यसपछि उत्पन्न असहजता तथा शान्तिसुरक्षाबारे जानकारी गराए ।

प्रकाशित मिति: ३० आश्विन २०८२, बिहिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com