मोरङ । जेनजीका नाममा सरकारी तथा निजी सम्पत्ति तोडफोड र लुटपाट गर्नेलाई अविलम्व कानुनी कारबाहीको दायरामा ल्याउन सरोकारवालाहरुले सुझाव दिएका छन् ।

गत भदौ २३ र २४ गतेको घटनासम्बन्धी जाँचबुझ आयोग, २०८२ का सदस्य एवम् प्रवक्ता विज्ञानराज शर्माको उपस्थितिमा जिल्ला प्रशासन कार्यालय मोरङले आज यहाँ आयोजना गरेको कार्यक्रममा उक्त सुझाव दिइएको हो ।

advertisement

छलफलमा सहभागीहरुले आन्दोलनका क्रममा अर्बौ रकम बराबरको क्षति भएको र निजी सम्पत्तिमाथि तोडफोड, आगजनी तथा लुटपाट गर्नेलाई कानुनी कारबाहीको दायरमा ल्याउन आयोगको ध्यानाकर्षण गराए ।

आयोगका सदस्य शर्माले आयोगको क्षेत्राअधिकारभित्र फौजदारी मुद्धा नपर्ने भएकाले गत भदौ २३ र २४ गतेका घटनामा सरकारी, स्थानीय निकाय, निजी क्षेत्रमा भएको तोडफोड, आगजनी तथा लुटपाटका सम्बन्धमा छानबिन गरिने बताए । उनले आयोग स्वतन्त्र निकाय भएकाले सबैको भावना समेट्ने गरी सत्यतथ्य जाँचबुझ गरी नेपाल सरकारलाई प्रतिवेदन बुझाउने बताए ।

विराटनगर महानगरपालिकाका प्रमुख नागेश कोइरालाले जेनजी आन्दोलनका क्रममा मृत्यु भएकाको सम्बन्धमा आवश्यक छानबिन गर्न माग गरे । मोरङका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले प्रहरीले क्षतिको मुचुल्का उठाइसकेको जानकारी गराए । सुन्दरहरैचा नगरपालिकाका प्रमुख केदार गुरागाईंले पीडितले न्याय पाउनुपर्ने र पीडकलाई कारबाही हुनुपर्नेमा जोड दिए।

उद्योग सङ्गठन मोरङका वरिष्ठ उपाध्यक्ष भोला दुलालले आन्दोलनको क्रममा आफ्नो होटल नेपालीरिकामा रु २८ करोडको क्षति भएको बताए । त्यस अवसरमा नेकपा एमालेका मोरङ उपाध्यक्ष सागर थापा, जनता समाजवादी पार्टीका मोहम्मद नसरुल, राष्ट्रिय स्वतन्त्र पार्टीका कृष्ण निरौला, नेकपा (माओवादी केन्द्र) का किशोर पाण्डे, उद्योग परिसङ्घका पवन शारडा, मोरङ उद्योग व्यापार सङ्घका वरिष्ठ उपाध्यक्ष अनिल साह, नेकां मोरङ उपाध्यक्ष भक्तिनाथ माझी, विराटनगर–१ का वडाध्यक्ष काजीबहादुर बस्नेतलगायतको उपस्थिति थियो ।

प्रकाशित मिति: ३० आश्विन २०८२, बिहिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com