काठमाडौं । नेकपा (एमाले) की केन्द्रीय सदस्य उषाकिरण तिम्सेनाले पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई राजीनामा दिन आग्रह गरेकी छन्।

शुक्रबार बिहानदेखि जारी केन्द्रीय कमिटी बैठकमा धारणा राख्दै उनले वर्तमान नेतृत्व र संरचना लिएर पार्टीले न चुनावमा जान सक्ने, न आन्दोलन गर्न सक्ने स्थिति रहेको बताइन्।

advertisement

तिम्सेनाले भनिन्, ‘अध्यक्षले अब पदबाट बिदा लिएर अभिभावक बन्नुपर्छ। यही संरचना लिएर अघि बढ्दा देश र पार्टी दुवै संकटमा पर्छन्।’

उनका अनुसार अहिलेको मुख्य राजनीतिक कार्यभार दलहरूको पुनर्गठन हो र त्यसका लागि एमालेको पुनर्गठन अत्यावश्यक छ। उनले पार्टी अध्यक्षले पद छोडे मुलुकको राजनीतिक गतिरोध तोडिने विश्वास व्यक्त गरिन्।

भदौ २३ र २४ गतेको ‘जेनजी आन्दोलन’का क्रममा २४ जनाको मृत्यु र ठुलो आर्थिक क्षतिपछि पनि नेतृत्वले नैतिक जिम्मेवारी नलिएको भन्दै उनले प्रश्न गरिन्— ‘गोली चलाउने हवलदारले जिम्मा लिने हो कि राजनीतिक नेतृत्वले?’

उनले भदौ २४ का घटनालाई षड्यन्त्र भनिँदै आइरहेको सन्दर्भमा पनि एमालेविरुद्ध लागेका शक्तिहरू किटान गर्नुपर्ने बताइन्।

११ वर्षदेखि ओलीले पार्टीको नेतृत्व गरेको स्मरण गराउँदै तिम्सेनाले सो अवधिमा भएका अभ्यासहरूले पार्टी र वाम आन्दोलनलाई कहाँ पुर्‍यायो भन्ने गम्भीर समीक्षा गर्न आग्रह गरिन्।

त्यस्तै उनले पार्टीको ‘सूर्य’ चिह्नमा चुनाव लड्ने क्रममा दुर्गा प्रसाईंजस्ता विवादास्पद पात्रलाई पार्टीमा भित्र्याइएको भन्दै आत्मालोचनाको माग गरिन्।

तिम्सेनाले देशमा बढ्दो अस्थिरता र संविधान संकटबीच अब संसद् पुनःस्थापना होइन, नयाँ चुनावमा जाने समय आएको बताइन्। उनले भनिन्, ‘नयाँ नेतृत्वको साथमा हामी चुनावमा गयौं भने एमाले फेरि उठ्नेछ।’

उनले मीनबहादुर गुरुङबाट दानस्वरूप लिइएको जग्गा फिर्ता गर्न पनि सुझाव दिइन्। यसअघि सो विषय उठाएकी तिम्सेना ६ महिनाका लागि पार्टीबाट निलम्बित भएकी थिइन्।

अन्त्यमा उनले भनिन्, ‘भदौ २४ को घटना पार्टी र राष्ट्रका लागि महादुःस्वप्न थियो। यदि त्यसबाट पनि हामीले पाठ सिकेनौं भने इतिहासले क्षमा गर्ने छैन।’

प्रकाशित मिति: ३१ आश्विन २०८२, शुक्रबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com