काठमाडौँ । राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहाल अन्तर-व्यवस्थापिका सङ्घ (Inter-Parliamentary Union–IPU) को १५१औँ महासभामा सहभागी हुन शुक्रबार स्विट्जरल्याण्डको जेनेभा प्रस्थान गरेका छन्।
अध्यक्ष दाहालसहितको नेपाली प्रतिनिधिमण्डलमा राष्ट्रियसभा सदस्यहरू गोपीबहादुर सार्की आछामी र मदनकुमारी शाह (गरिमा) पनि रहेका छन्। महासभा आगामी कात्तिक २ गतेदेखि ६ गतेसम्म जेनेभामा आयोजना हुँदैछ।
कार्यक्रमका क्रममा अध्यक्ष दाहालले नेपालको तर्फबाट महासभालाई सम्बोधन गर्ने र विभिन्न देशका संसद् अध्यक्ष तथा प्रतिनिधिहरूसँग द्विपक्षीय भेटघाट गर्ने कार्यतालिका रहेको सङ्घीय संसद सचिवालयले जनाएको छ।
सचिवालयका सहसचिव तथा प्रवक्ता एकराम गिरीद्वारा जारी विज्ञप्तिअनुसार, नेपाली प्रतिनिधिमण्डलका सदस्यहरूले अन्तर-व्यवस्थापिका संघका स्थायी समिति र अन्य बैठकहरूमा समेत सहभागिता जनाउनेछन्।
प्रतिनिधिमण्डल आगामी कात्तिक ९ गते स्वदेश फर्किने कार्यक्रम रहेको सचिवालयले जानकारी दिएको छ।
प्रकाशित मिति: ३१ आश्विन २०८२, शुक्रबार












प्रतिक्रिया