काठमाडौं । गृहमन्त्री ओमप्रकाश अर्यालले जेनजी आन्दोलनका नाममा आपराधिक मानसिकताका व्यक्तिहरूले सार्वजनिक सम्पत्ति र प्रतिष्ठानहरूमा तोडफोड गरी आन्दोलनलाई हिंसात्मक रूप दिएको बताएका छन्।
प्रहरी दिवसको ७०औँ वार्षिकोत्सवका अवसरमा शुक्रबार प्रहरी प्रधान कार्यालय नक्सालमा आयोजित श्रद्धाञ्जली कार्यक्रममा बोल्दै मन्त्री अर्यालले केही तत्त्वहरूले शान्तिपूर्ण प्रदर्शनलाई तोडफोड र आगजनीतर्फ मोडेको उल्लेख गरे।
उनका अनुसार, जेनजी प्रदर्शनको स्वरूप प्रारम्भिक अपेक्षाभन्दा फरक दिशामा गएको छ। उनले भने, ‘आपराधिक मानसिकताका मानिसहरूले महत्त्वपूर्ण प्रतिष्ठान र निजी सम्पत्ति तोडफोड गरेर आन्दोलन हिंसात्मक बनाए।’
मन्त्री अर्यालले प्रदर्शनका क्रममा आक्रमणका कारण प्रहरी संगठन थप प्रभावित भएको बताए। उनले अभावका बाबजुद जनताको सुरक्षामा खटिएका प्रहरीको मनोबल उच्च राख्न गृह मन्त्रालयले आवश्यक स्रोत र साधन उपलब्ध गराउने प्रतिबद्धता जनाए।
भदौ २३ र २४ गतेको जेनजी प्रदर्शनका क्रममा तीन जना प्रहरीले ज्यान गुमाएका थिए। कार्यक्रमका क्रममा गृहमन्त्री अर्यालले वीरगति प्राप्त प्रहरी असई मिलन राय, सहायक हवलदार अमृत गुरुङ र अन्य परिवारजनलाई सम्मान गरेका थिए।
हालका केही दिनयता धार्मिक र साम्प्रदायिक आधारमा द्वेष फैलाउने प्रयास भइरहेको उल्लेख गर्दै मन्त्री अर्यालले त्यस्ता गतिविधिलाई रोक्न समयमै हस्तक्षेप गर्न निर्देशन दिएका छन्। उनले भने, ‘साम्प्रदायिक सद्भावमा खलल पुर्याउने कुनै पनि दुष्प्रयास सफल हुन दिइने छैन।’
प्रकाशित मिति: ३१ आश्विन २०८२, शुक्रबार













प्रतिक्रिया