काठमाडौं । गृहमन्त्री ओमप्रकाश अर्यालले आधारभूत तहका प्रहरी कर्मचारीहरूको मनोबल उच्च राख्न विशेष कार्यक्रम सञ्चालन गर्न निर्देशन दिएका छन्।
७०औँ प्रहरी दिवसको अवसरमा शुक्रबार प्रहरी प्रधान कार्यालय नक्सालमा आयोजित समारोहमा बोल्दै मन्त्री अर्यालले जवानदेखि वरिष्ठ हवल्दारसम्मका प्रहरी कर्मचारीहरू नेपाल प्रहरी मात्र होइन, नेपाल सरकारकै प्रत्यक्ष प्रतिनिधि भएको उल्लेख गर्दै उनीहरूको कार्य उत्साह र सेवा गुणस्तरले नागरिकमा प्रहरीप्रतिको धारणा निर्माण हुने बताए।
‘आधारभूत तहका प्रहरीको मनोबल र क्षमता वृद्धि गर्न संगठनले पहिचान गर्नुपर्ने कार्यक्रमहरू तयार पारोस् र मन्त्रालय वा सरकारले गर्न सक्ने पहलहरूका लागि प्रस्ताव प्रस्तुत गरोस्,’मन्त्री अर्यालले प्रहरी महानिरीक्षकलाई आग्रह गरे।
उनले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनको शान्ति-सुरक्षा सुनिश्चित गर्न प्रहरीको महत्वपूर्ण भूमिका रहने उल्लेख गर्दै पर्याप्त स्रोत र साधनको अभावले कार्यसम्पादनमा असर नपरोस् भन्ने विषयमा गृह मन्त्रालय र सरकार सचेत रहेको बताए।
गत असोज १७ गतेदेखि भएको अविरल वर्षाबाट उत्पन्न विपद्को बेला आफ्नो ज्यान जोखिममा राखी उद्धार, राहत र पुनःस्थापनामा खटिएका प्रहरी कर्मचारीहरूको उच्च मनोबल र समर्पणप्रति उनले विशेष धन्यवाद व्यक्त गरे।
मन्त्री अर्यालले नेपाल प्रहरीको समग्र प्रतिबद्धता र कर्तव्यपरायणतामा प्रश्न नरहेको उल्लेख गर्दै पनि केही सीमित कर्मचारीहरूको व्यवहार, सेवा प्रवाह र आचरणमा सुधार आवश्यक रहेको औंल्याए। उनले प्रहरी सेवालाई अझ जनमैत्री र पारदर्शी बनाउन संगठनले निरन्तर सुधारका पहल गर्नुपर्नेमा जोड दिए।
उनले प्रविधिको प्रभावकारी प्रयोग र नयाँ आविष्कारसँग तालमेल गर्दै छिटो, छरितो र गुणस्तरीय सेवा प्रवाह सुनिश्चित गर्नुपर्ने आवश्यकता औंल्याउँदै भने, ‘विश्वव्यापी प्रविधि विकाससँगै नयाँ प्रकृतिका अपराधहरू देखापरेका छन्, जसले अनुसन्धान कार्यलाई थप चुनौतीपूर्ण बनाएको छ। त्यसैले नेपाल प्रहरीले वर्तमान र भविष्यका अपराध चुनौतीहरू सामना गर्न सधैं तयार रहनुपर्छ।’
मन्त्री अर्यालका अनुसार, प्रहरीलाई पर्याप्त स्रोत र साधनसहित सक्षम बनाउनु गृह मन्त्रालयको प्राथमिक कार्यसूचीमा पर्छ, जसले देश र नागरिकको सुरक्षा प्रणाली अझ सुदृढ बनाउनेछ।
प्रकाशित मिति: ३१ आश्विन २०८२, शुक्रबार












प्रतिक्रिया