एजेन्सी । जापानका पूर्व प्रधानमन्त्री तथा वरिष्ठ राजनीतिज्ञ तोमिची मुरयामाको १०१ वर्षको उमेरमा शुक्रबार निधन भएको छ। जापानी अधिकारीहरूले मुरयामाको निधनको पुष्टि गरेका हुन्।
दोस्रो विश्वयुद्धका क्रममा जापानले एसियाली देशहरूमा गरेको अत्याचारबारे ‘गहिरो पश्चाताप’ व्यक्त गर्ने ऐतिहासिक वक्तव्यका कारण मुरयामा जापानी राजनीतिमा सधैं स्मरणीय रहँदै आएका थिए।
सोसल डेमोक्रेटिक पार्टीकी नेत्री मिजुहो फुकुसिमाले सामाजिक सञ्जाल एक्स (पहिलेको ट्विटर) मार्फत जानकारी दिँदै लेखेकी छन्, ‘जापानी राजनीतिको पिता तोमिची मुरयामाको आज बिहान ११ः२८ बजे ओइटा सिटीस्थित अस्पतालमा १०१ वर्षको उमेरमा निधन भएको छ।’ उनका पार्टी महासचिव हिरोयुकी टाकानोले पनि बुढ्यौलीका कारण निधन भएको पुष्टि गरेका छन्।
सन् १९९५ मा जापानको आत्मसमर्पणको ५०औं वार्षिकोत्सवका अवसरमा मुरयामाले जारी गरेको ऐतिहासिक वक्तव्यमा उनले भनेका थिए,
‘जापानले आफ्नो औपनिवेशिक शासन र आक्रमणमार्फत विशेषगरी एसियाली मुलुकका नागरिकहरूलाई गहिरो पीडा र क्षति पुर्याएको छ। भविष्यमा यस्ता गल्तीहरू नदोहोरिनून् भन्ने दृढ इच्छाका साथ म गहिरो नम्रता र पश्चातापका साथ ती इतिहासका सत्यहरूलाई स्वीकार गर्दै हृदयदेखि माफी माग्दछु।’
उनको यो वक्तव्य जापानको युद्धपछिको इतिहासमा महत्वपूर्ण मापदण्डका रूपमा स्थापित भयो। त्यसपछि आएका प्रधानमन्त्रीहरूले पनि मुरयामाको भावना उद्धृत गर्दै ६०औं र ७०औं वार्षिकोत्सवका अवसरमा ‘गहिरो पश्चाताप’ र ‘हार्दिक माफी’ जस्ता शब्दहरू प्रयोग गरेका थिए।
घना आँखीभौँ र शान्त स्वभावका कारण परिचित मुरयामा १९९४ देखि १९९६ सम्म जापानका प्रधानमन्त्री रहे। लिबरल डेमोक्रेटिक पार्टीसमेत समावेश भएको दुर्लभ गठबन्धन सरकारको नेतृत्व गर्न उनी सफल भएका थिए।
उनको कार्यकाल जापानका लागि चुनौतीपूर्ण रह्यो-सन् १९९५ मा पश्चिमी जापानमा आएको विनाशकारी भूकम्प र टोकियोको सबवेमा भएको सारिन ग्यास आक्रमणले देशलाई ठूलो आघात पुर्यायो। उक्त आक्रमणमा दर्जनौँको मृत्यु र करिब ५,८०० जना घाइते भएका थिए।
मुरयामाको जीवन जापानको युद्ध र पुनर्निर्माणको इतिहाससँग गहिरो रूपमा जोडिएको थियो। सन् १९४४ मा विश्वविद्यालयमा अध्ययनरत रहँदै उनी जापानी शाही सेनामा भर्ती भएका थिए। उनले पछि स्मरण गरेका थिए, ‘युद्धको अन्त्यतिर खाना र हतियार दुवैको अभाव थियो। बाँसका हतियारसहित लड्ने अवस्थामा पुगेका थियौँ,’त्यो समय सम्झिँदा अहिले पनि डर लाग्छ।’
तोमिची मुरयामा जापानको राजनीतिक इतिहासमा एक यस्ता नेता मानिन्छन्, जसले आत्मआलोचना, नम्रता र मानवताको पक्षमा अडिग रहँदै आफ्नो सिद्धान्त कायम राखे। उनको निधनसँगै जापानी राजनीतिमा एउटा युगको अन्त्य भएको रूपमा हेरिएको छ।
प्रकाशित मिति: ३१ आश्विन २०८२, शुक्रबार













प्रतिक्रिया