काठमाडौं। काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले महानगरको आफ्नै भवन निर्माणबारे भएको छलफलमा हाँस्यात्मक शैलीमा प्रतिक्रिया दिँदै “तिहार चाँडै सकियोस्, भवन निर्माण सुरु गर्छौं” भनेका छन्।

शुक्रबार बसेको काठमाडौं महानगरको ४३औँ कार्यपालिका बैठकमा सुशासन समितिका संयोजक ख्यामराज तिवारीले महानगरको अस्पताल निर्माणका लागि नेपाल स्काउटको जग्गा भाडामा लिने प्रस्ताव प्रस्तुत गरेका थिए।

advertisement

उक्त विषयमा असहमति जनाउँदै वडा नं. ११ का वडाध्यक्ष हिरालाल तण्डुकारले महानगरले आफ्नै भवन निर्माणमा प्राथमिकता दिनुपर्ने बताएका थिए। ‘जनताको करबाट भाडा तिरेर बसेको संस्था आफैंले भवन बनाउन नसक्नु दुःखको कुरा हो,’ तण्डुकारले भने, ‘पहिला आफ्नो घर बनाऔं, अनि मात्रै अस्पतालजस्ता अन्य योजनामा जाऔं।’

तण्डुकारले स्काउटको जग्गा विवादास्पद रहेको र सो सम्बन्धी मुद्दा विचाराधीन रहेको स्मरण पनि गराएका थिए।

जवाफमा मेयर बालेनले तिहारपछि महानगरको भवन निर्माण कार्य प्रारम्भ हुने जानकारी दिँदै भने, ‘तिहारपछि सुरू हुन्छ भनेपछि के तपाईंले नबनोस् भन्न खोज्नु भएको हो?’

जब तण्डुकारले ‘छिटोछिटो गर्नुपर्छ’ भने, बालेनले मुस्कुराउँदै उत्तर दिए, ‘तिहार छिट्टै सकियोस्, तब काम सुरु गर्छौं। १० दिनको तिहार म आज कसरी सकाइदिऊँ?’

मेयर बालेनको उक्त प्रतिक्रिया बैठकमा उपस्थित सदस्यहरूबीच हाँसोको विषय बनेको थियो। उनले तिहार सकिएलगत्तै महानगर भवनको निर्माण कार्यलाई प्राथमिकता दिने प्रतिबद्धता दोहोर्‍याएका छन्।

प्रकाशित मिति: ३१ आश्विन २०८२, शुक्रबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com