काठमाडौं । नेकपा एमालेका नेता महेश बस्नेतले प्रधानमन्त्री सुशीला कार्की नेतृत्वको सरकारमाथि ‘स्टन्टबाजी’ गरेको आरोप लगाएका छन्।
बस्नेतले सामाजिक सञ्जाल फेसबुकमार्फत तीन पूर्वप्रधानमन्त्री र तीन पूर्वमन्त्रीमाथि सम्पत्ति शुद्धिकरणको मुद्दा दर्ता गर्ने सरकारको कदमलाई देखावटी र अनावश्यक भएको टिप्पणी गरेका छन्।
उनले लेखेका छन्, ‘सरकारको नयाँ स्टन्टबाजी: तीन पूर्वप्रधानमन्त्री र तीन पूर्वमन्त्रीमाथि सम्पत्ति शुद्धिकरणको नाटक सुरु भएको छ। जहाँसम्म केपी शर्मा ओलीको कुरा छ, उहाँले धेरै अघि नै आफ्नो सम्पत्ति राष्ट्रको नाममा समर्पण गरिसक्नुभएको छ। अब ‘शेष सम्पत्ति’ खोज्ने हतार छ भने, गएर हेर्नुस्—बालकोटमा जलाइएका उहाँका घरहरू र खरानी बनेका पुस्तकालयहरू नै उहाँको सम्पत्ति हो। देश, जनता र सिद्धान्तप्रति अटुट समर्पण। अब अनावश्यक स्टन्टबाजी बन्द गर्नुपर्छ।’
बस्नेतको यो अभिव्यक्ति त्यतिबेला सार्वजनिक भएको हो जब सरकारले पूर्वप्रधानमन्त्री ओली, शेरबहादुर देउवा, पुष्पकमल दाहालसहित पूर्वमन्त्री आरजु राणा र दीपक खड्कामाथि अनुसन्धान गर्ने तयारी गरिरहेको चर्चाले जन्माएको थियो। बस्नेतले यस कदमलाई राजनीतिक देखावटी र जनता भ्रमित पार्ने प्रवृत्ति भएको बताएका छन्।

प्रकाशित मिति: ३१ आश्विन २०८२, शुक्रबार













प्रतिक्रिया