काठमाडौं । नेकपा एमालेका पोलिटब्युरो सदस्य महेश बस्नेतले जेनजी आन्दोलनलाई देश, एमाले र पार्टी अध्यक्ष केपी शर्मा ओलीविरुद्ध सञ्चालित योजनाबद्ध अन्तर्राष्ट्रिय राजनीतिक अभियान (अपरेशन)को संज्ञा दिएका छन्।

ललितपुरमा जारी एमाले केन्द्रीय कमिटीको दशौँ बैठकमा शुक्रबार धारणा राख्दै बस्नेतले राष्ट्रवाद, विकास र समृद्धिको पक्षमा एमालेले गरेको कार्यप्रति असहज भएका बाह्य शक्तिहरूले नियोजित रूपमा यो आन्दोलन खडा गरेको दाबी गरे।

advertisement

उनले भने, ‘हाम्रो पार्टी र अध्यक्ष ओलीले राष्ट्र, संविधान र समृद्धिको पक्षमा उठाएका कदमले अन्तर्राष्ट्रिय शक्तिहरू असहज बनेका छन्। त्यसकै प्रतिक्रियास्वरूप जेनजी आन्दोलनको नाममा देशमाथि योजनाबद्ध आक्रमण भयो।’

बस्नेतका अनुसार भदौ २३ र २४ गतेका घटनाहरू स्वतःस्फूर्त जनआन्दोलन नभई नियोजित रूपमा देशका संरचना, संवेदनशील दस्तावेज र सम्पदामाथि प्रहार गर्ने लक्ष्यसहितको अभियान थियो। ‘हामीमाथि प्रहार भयो, तर हामीले राष्ट्रको हितका लागि ढाड थापेर त्यसलाई सामना गर्‍यौं,” उनले जोड दिए।

जेनजी आन्दोलनको नाम पश्चिमी समाजशास्त्रीय वर्गीकरणबाट आएको उल्लेख गर्दै उनले बाह्य शक्तिहरूले सो वर्गका युवालाई प्रयोग गरेर देशभित्र अराजकता फैलाएको आरोप लगाए। ‘यी आन्दोलनहरू केवल नेपालमै होइन, ११ देशमा उस्तै ढाँचामा भइसकेका छन्— एउटै झन्डा, एउटै नारा, एउटै डिजिटल नेटवर्क,’ उनले बताए।

उनका अनुसार प्रदर्शनअघि नै गुगल म्यापमा लक्षित संरचनाहरू चिनाइएको, तोडफोडमा सोडियम र म्याग्नेसियमजस्ता रासायनिक पदार्थ प्रयोग गरिएको तथ्यहरूले पनि यसको अन्तर्राष्ट्रिय संलग्नता प्रमाणित गर्छ। ‘यो स्थानीय असन्तोष होइन, पूर्व–योजनाबद्ध राजनीतिक अपरेशन हो,’ बस्नेतले भने।

बस्नेतले जेनजी पुस्ताको वास्तविक समस्या नातावाद, भ्रष्टाचार र अवसर अभावसँग जोडिएको भए पनि त्यस असन्तोषलाई बाह्य शक्तिहरूले देशविरोधी दिशामा मोडिदिएको टिप्पणी गरे।

बैठकमा उनले अध्यक्ष ओलीको नेतृत्वलाई थप सशक्त बनाउन, निष्क्रिय पदाधिकारीलाई हटाएर नयाँ ऊर्जाशील टिम बनाउन र पार्टी पुनर्गठन गर्न सुझाव दिए। साथै, अन्तरिम सरकार र संसद् विघटनविरुद्ध कानुनी तथा जनस्तरको अभियान सञ्चालन गर्नुपर्ने प्रस्ताव पनि उनले अघि सारे।

उनले आन्दोलनका नाममा हिंसात्मक गतिविधि, चोरी, लुटपाटमा संलग्न व्यक्तिहरूलाई कानुनी कारबाही गर्न र पीडितलाई राहतसहित पुनर्निर्माणका कार्यक्रम अघि बढाउन सरकारलाई दबाब दिनुपर्ने धारणा राखे।

पार्टीभित्रको आन्तरिक मतभेदतर्फ संकेत गर्दै बस्नेतले वैकल्पिक नेतृत्वका नाममा विभाजन निम्त्याउने प्रयास नगर्न चेतावनी दिए। ‘विद्या भण्डारीजस्ता नेताको नाममा वैकल्पिक शक्ति खोज्नेहरूले अन्ततः प्रचण्ड र माधव नेपालसँग पुग्ने खतरा छ,’ उनले भने।

उनले अब युवा पुस्ताले नै पार्टीको नेतृत्व सम्हाल्ने समय आएको दाबी गर्दै भने, ‘अब एमालेका सबै तहमा नयाँ पुस्ताको नेतृत्व सुनिश्चित गर्नुपर्छ— यही नै पार्टीलाई नयाँ उचाइमा पुर्‍याउने बाटो हो।’

प्रकाशित मिति: ३१ आश्विन २०८२, शुक्रबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com