काठमाडौं । नेकपा (एमाले)का सचिव योगेश भट्टराईले पार्टी पुनर्गठनको आवश्यकता औपचारिक रूपमा उठाएका छन्।
शुक्रबार बसेको केन्द्रीय कमिटी बैठकमा धारणा राख्दै उनले मुलुकको पछिल्लो राजनीतिक अवस्थालाई दृष्टिगत गर्दै पार्टीले आफ्नो संगठन, नेतृत्व र दिशा पुनःनिर्धारण गर्नुपर्ने बताएका हुन्।
सचिव भट्टराईका अनुसार, पार्टी पुनर्गठनको मूल पक्ष नेतृत्व हस्तान्तरणसँग जोडिएको छ। उनले भने, “हामीले विधान महाधिवेशनमार्फत अध्यक्ष केपी शर्मा ओलीलाई पुनः अध्यक्ष हुने गरी सन्देश दिएका थियौं। तर वर्तमान असाधारण परिस्थिती र जनताको अपेक्षा हेर्दा त्यस मनोविज्ञानमा पुनर्विचार गर्न आवश्यक छ।”
भट्टराईले अध्यक्ष ओलीले स्वयं सहज रूपमा नेतृत्व हस्तान्तरणको पहल गर्नुपर्ने सुझाव दिएका छन्। त्यसका लागि उनले दुई विकल्प अघि सारे—
१. पार्टीको वरिष्ठ नेतालाई तत्काल कार्यवाहक अध्यक्षको जिम्मेवारी दिने र आगामी महाधिवेशनबाट सहमति वा प्रतिस्पर्धामार्फत नयाँ नेतृत्व चयन गर्ने।
२. अध्यक्ष ओलीकै नेतृत्वमा महाधिवेशन सम्पन्न गर्ने तर अगावै नेतृत्व हस्तान्तरणको पूर्वघोषणा गर्ने।
उनले भने, ‘यी दुईमध्ये कुन बाटो रोज्ने भन्ने विषय अध्यक्ष कमरेडको अन्तरआत्मामाथि निर्भर छ।’
भट्टराईले पार्टीमा दुई कार्यकाल र ७० वर्ष उमेर सीमा सम्बन्धी व्यवस्था पहिले नै सुविचारित ढंगले गरिएको भए पनि ओलीलाई निरन्तरता दिन त्यसमा संशोधन गरिएको स्मरण गराए। अब भने उनले सो प्रावधान पुनःस्थापना गरेर नेतृत्वको सहज हस्तान्तरणको परम्परा सुरु गर्नुपर्नेमा जोड दिए।
त्यस्तै उनले संसदीय क्षेत्रमै पनि नेतृत्वको कार्यकालको सीमा तोक्नुपर्ने आवश्यकता औंल्याए।
भदौ २३ र २४ गतेको जेनजी आन्दोलनका घटनाबारे बोल्दै भट्टराईले ती घटनाको राजनीतिक तथा नैतिक जिम्मेवारी एमालेले लिनुपर्ने बताए। उनले भने, ‘त्यो समयमा सरकारले आवश्यक तयारी गर्न सकेन, दमन भयो र त्यसकै परिणामस्वरूप अप्रीय घटना भयो।’
उनका अनुसार, २४ गतेको आन्दोलनमा फरक स्वार्थ बोकेका समूहहरूले जेनजी आन्दोलनलाई दुरुपयोग गरेका थिए।
भट्टराईले भने, ‘सिंहदरबार, संसद, सर्वोच्च, अख्तियार, प्रदेश सरकारका कार्यालयदेखि व्यापारीक प्रतिष्ठान र सञ्चार गृहसम्म तोडफोड र आगजनी भयो। त्यो नेपाली इतिहासकै कालो दिन थियो।’
उनले थपे, ‘त्यो बेला सरकारको नेतृत्व एमालेकै हातमा थियो। हाम्रो अध्यक्ष प्रधानमन्त्री हुनुहुन्थ्यो। सुरक्षा सुनिश्चित गर्न नसक्नु हाम्रो कमजोरी हो। त्यसको जिम्मेवारी लिएर हामीले जनतासमक्ष क्षमा माग्नुपर्छ।’
भट्टराईको भनाइमा, पार्टीले जनताको मन जित्न आत्मसमिक्षा, नेतृत्वको हस्तान्तरण र संगठनात्मक पुनर्गठनबाट नयाँ सुरुवात गर्नुपर्ने समय आएको छ।
प्रकाशित मिति: ३१ आश्विन २०८२, शुक्रबार













प्रतिक्रिया